जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार ०९:२५

धादिङकाे गंगा–जमुना मेलामा भक्तजनको घुइँचो, धार्मिक पर्यटनको विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता


धादिङ, मंसिर ४। धादिङको गंगाजमुना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गंगाजमुना माईमा यस वर्षको ऐतिहासिक हरिबोधनी एकादशी मेला लागेकाे छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले मेलाको उद्घाटन गर्नुभएको हो।

गंगाजमुना गाउँपालिकाको आयोजनामा प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको यो मेला यस वर्ष पनि धार्मिक आस्था, परम्परा र उत्साहका साथ लागेकाे हाे । स्थानीय जनविश्वासअनुसार करिब १३ सय वर्ष पुरानो इतिहास बोकेको यस मेलाले धादिङको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको छ।

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले गंगाजमुना क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि बागमती प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी यस क्षेत्रसम्म पुग्ने पहुँचमार्ग निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

उद्घाटन समारोहमा संविधानसभा सदस्य धनबहादुर घले र पुष्पविक्रम मल्ल, बागमती प्रदेशसभा सदस्य सुनिल थापा र गोविन्द लम्साल, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले गंगाजमुना क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वबारे चर्चा गर्दै मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले गंगाजमुना क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र नभई विभिन्न धर्म, संस्कृति र समुदायको साझा संगमस्थलसमेत रहेको बताउनुभयो। उहाँले गाउँपालिकाको समग्र विकाससँगै धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकार, मुख्यमन्त्री तथा स्थानीय सरकारहरूको ध्यानाकर्षण गराउनुभयो।

धादिङको उत्तरी भेगमा अवस्थित गंगाजमुना झरना यस क्षेत्रको प्रमुख प्राकृतिक आकर्षण हो। अग्लो चट्टानी पहराबाट करिब तीन सय मिटर तल खस्ने गंगा र जमुना नामका दुई छुट्टाछुट्टै जलधाराले यहाँको प्राकृतिक सौन्दर्यलाई अनुपम बनाएका छन्। पहराको काखबाट दूधको धारा झैँ खस्ने झरनाको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

स्थानीय जनश्रुतिअनुसार प्राचीनकालमा गंगा र जमुना नाम गरेका दुई दिदीबहिनी यस क्षेत्रमा एकाएक बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले खोज्दै जाँदा उनीहरू एउटा गुफाभित्र पुगेको र त्यहीँबाट आफूहरूलाई दैवी शक्तिका रूपमा पुज्न आग्रह गरेको किंवदन्ती छ। त्यसपछि उनीहरूकै नामबाट यस स्थानको नाम गंगाजमुना रहन गएको र धार्मिक पूजाआजा तथा मेला लगाउने परम्परा सुरु भएको स्थानीय विश्वास छ।

हिन्दू धर्मावलम्बीहरूले गंगाजमुना माईलाई पवित्र तीर्थस्थलका रूपमा मान्ने गरेका छन्। हरिबोधनी एकादशीका दिन यहाँ स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

मेलाको अघिल्लो रात जाग्राम बस्ने, भोलिपल्ट बिहान झरनामा स्नान गर्ने, दीप प्रज्वलन गर्ने तथा गंगाजमुना माईको दर्शन र पूजाआजा गर्ने परम्परा रहँदै आएको छ। यस अवसरमा धादिङसहित गोरखा, नुवाकोट, काठमाडौंलगायत विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजन आउने गरेका छन्।