काठमाडौं, १६ असार । स्पेन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार विभिन्न उच्चस्तरीय भेटघाट तथा बैठकहरूमा व्यस्त रहनुहुने भएको छ ।
आज प्रधानमन्त्री ओलीले स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ओलीले आजै इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आजै अपराह्न प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटरेसबीच पनि भेटवार्ता तय भएको छ। यो भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्यका विविध आयामबारे छलफल हुने जनाइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले गएराति सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। सम्बोधनमा प्रधानमन्त्रीले लोकतन्त्र, दिगो विकास र सामाजिक समावेशीकरणका विषयमा नेपालका अनुभवहरू साझा गरेका थिए।
प्रधानमन्त्री ओली चारदिने भ्रमणका क्रममा हाल स्पेनको राजधानी म्याड्रिडमा हुनुहुन्छ । भ्रमण अवधिभर उहाँले विभिन्न मुलुकका सरकार प्रमुख तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तन, आप्रवासन, तथा विकास सहकार्यजस्ता बहुपक्षीय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्