जनता टाइम्स

१७ असार २०८२, मंगलवार १३:४३

एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानविरुद्धको खेलमा नेपालको जित


काठमाडौं, १७ असार । मलेसिया भएको खेलमा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित हात पारेको हो । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउदै ६० रन बनायो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो ।

भुटानका लागि सुजन दावा सर्वाधिक १४ रनमा आउट भए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो ।

नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालको सुरुवात भने राम्रो रहन सकेको थिएन । नेपालले १७ रन जोड्दा २ ओपनरहरुलाई गुमाएको थियो । तर, तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग मिलेर ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए ।

शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए । चौथो विकेटका लागि रौनकले सुगम बुढाथोकीसँग मिलेर ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।

पाँचौ विकेटका लागि रौनकले जोय थापासँग मिलेर १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिए ।

नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ ।

पराजित भुटान समूह चरणमा खेलेको चारै खेलमा पराजित हुदै अंक बिहिन भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरीएको छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार थिए । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियासँग नेपालले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ । समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।