जनता टाइम्स

१८ असार २०८२, बुधबार ०९:५६

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज


काठमाडौं, १८ असार ।  सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज (बुधबार) फैसला सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो ।

विसं २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो । संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेलका साथै डा. पुण्यप्रसाद खतिवडा लगायतले विभिन्न मितिमा रिट दायर गरेका थिए । अर्याल, शर्मा र त्रिपाठी लगायतको रिटमा ती नियुक्ति संविधान र कानुनविपरीत रहेको दाबी गरिएको छ ।

रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएसँगै जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबीच भएको लामो छलफलपछि असार १८ गते निर्णय सुनाउने मिति सारिएको थियो ।