काठमाडौं, असार १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतमाथि कठोर जवाफ फर्काउनु भएको छ । थापाले आफूमाथि लगाएको आरोपलाई फोहोरीले लगाएको संज्ञा दिनुभएको छ ।
थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भन्नुभएको छ, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।’ टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काउनु भएको हो ।
थापाले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भन्नुभएको छ, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गर्नुभयो । थापाले भन्नुभयो, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’
प्रतिक्रिया दिनुहोस्