जनता टाइम्स

२८ असार २०८२, शनिबार २१:२४

बामदेव प्रवृत्तिको राजनीति : नेपालको कम्युनिष्ट आन्दोलनका लागि विसर्जनको यात्रा  


-नवराज पथिक-

काठमाडौं, २७ असार । हाँस हाँससँग, बकुल्ला बकुल्लैसँग । रङ्ग एउटै देखेर के गर्नु हाँस बकुल्लोसँग मिल्दैन, बकुल्ला हाँससँग मिल्दैन ।

नेपालमा कम्युनिष्ट भन्नेहरूको अवस्था पनि त्यस्तै छ । सबैले आफूलाई कम्युनिष्ट भन्छन् । आफूलाई सबैले सबैभन्दा बढी क्रान्तिकारी ठान्छन् । तर एउटा अर्कोसँग मिल्न सक्दैनन् । यिनीहरू विचारको कारणले नमिलेका होइनन्, प्रवृत्तिका कारण नमिलेका हुन् ।

दृश्यगत रूपमा एउटै झण्डा, वर्ग संघर्षको भाष्य, मार्क्सवादी दर्शन र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दाबी गर्ने नेताहरू व्यवहारमा भने एक अर्कासँग कहिल्यै मेल खाँदैनन्। तीमध्ये सबैभन्दा प्रमुख पात्र हुन् – बामदेव गौतम।

बामदेव गौतमको राजनीतिक यात्रा केवल पद र प्रतिष्ठाको तिर्सना, शक्तिको चक्कर र बार्गेनिङको इतिहास हो। विचार होइन, प्रवृत्ति हो – त्यो पनि अनिर्णय, अवसरवाद र विभाजनको प्रवृत्ति। एमालेको सुदृढ इतिहास, जनमतको समर्थन, कार्यकर्ता संरचना र आन्दोलनको नेतृत्व सबैका बीचमा उभिएर पनि बामदेवले सधैँ व्यक्तिगत लाभको गणित मिलाउन राजनीति गर्दै आउनुभएको छ ।

अहिले अन्ततः बामदेव फुट र विभाजनका पक्षधरसँग काँध मिलाउन पुग्नु भएको छ । एकीकृत समाजवादी पार्टीका नेता आफ्नै पुराना मित्र माधव नेपालसँग जोडिन पुग्नु भएको छ । साे पार्टीमा वर्यादामा माधव नेपाल पछि झलनाथ र झलनाथ पछि बामदेव हुने सहमति भएको छ ।

एमाले भित्रको संघर्ष, बाहिरको अवसर

एमालेमा रहँदा बामदेव गौतमले पार्टीको केन्द्रमा आफूलाई राख्न लगातार प्रयास गर्नुभयो। पार्टी उपाध्यक्ष, गृह मन्त्री, उपप्रधानमन्त्रीसम्म पुग्नुभयो। प्रधानमन्त्री बन्ने सपना चाहिँ कहिल्यै पूरा भएन। यथार्थ स्वीकार नगर्ने उहाँको मनोवृत्तिले उनलाई सधैँ सत्ता समीकरण र अवसरको खोजमा लगायो।

एमालेभित्रकै निर्णय, बहस र नेतृत्वमाथि असन्तुष्टि जनाउँदै कहिले माओवादीसँग मिल्ने, कहिले पार्टी एकता गर्ने अभियानमा लाग्ने उहाँको प्रवृत्तिले पार्टीमा अस्थिरता भित्र्यायो। २०७५ सालमा भएको एमाले–माओवादी एकता पनि विचारभन्दा बढी नेतृत्वलाई कमजोर पार्ने रणनीति अन्तर्गत गरिएको थियो, जसमा बामदेवको सक्रिय भूमिका रह्यो। तर त्यसको अन्त्य दुखद ढङ्गले नेकपाको विघटनमा परिणत भयो।

पार्टी एकता कि शक्ति लपक्क पार्ने योजना: बामदेव शैली

एमाले र माओवादीको एकता पछि पनि बामदेव गौतमले आफू मूल पार्टीको हैसियतमा भन्दा माओवादी नेतृत्वसँगको निकटतामा रमाउनुभयो। पार्टी एकता भएका बेला कार्यकर्ताहरू सोच्थे – अब विचार मिल्यो होला। तर एकताको आडमा सुरु भयो शक्ति सन्तुलनको प्रतिस्पर्धा। बामदेव त्यस प्रतिस्पर्धाका सशक्त पात्र बन्नुभयो।

पार्टी फुटेपछि उहाँले एउटै कुरा दोहोर्‍याउँदै हिँड्नुभयो – कम्युनिस्ट एकता अभियान । तर त्यो कहिल्यै व्यवहारतः कार्यान्वयनमा आएन । त्यो अभियान पार्टी एकता होइन, स्वार्थको एकता थियो। उहाँका गतिविधिहरू हेर्दा देखिन्थ्यो – उहाँ माओवादी केन्द्रका नेतालाई शक्तिमा पुराएर मूल नेतृत्वलाई कमजोर बनाउने योजनामा हनुहुन्थ्याे । नभन्दै कमजोर जगमा उभिएको नेकपा भत्कियो ।

बामदेव कम्युनिष्ट पार्टी मिलाउन सेतु बन्छु भन्दै लाग्नुभयो ।  कहिले माओवादीसँग बार्गेनिङ गर्नु हुनुन्थ्यो, कहिले समाजवादीसँग मोर्चा मिलाउन खोज्नुहुन्थ्यो, कहिले एमालेमै फिर्ता जान इच्छुक देखिनुहुन्थ्यो। सबै ठाउँमा एउटै कुरा – पद र शक्तिको बार्गेनिङ गर्नु हुनुन्थ्यो।

विभाजनको बीउबाट राष्ट्रपतिको सपनासम्म

बामदेव गौतमको राजनीतिक चाहना सीमित पद वा जिम्मेवारीमा सीमित थिएन। उहाँको महत्त्वाकाङ्क्षा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म फैलिएको देखिन्थ्यो। जनताबाट प्रत्यक्ष चुनावमा पराजित भएपछि पनि उहाँ सांसद हुन खोज्नुभयो।

एमाले नेतृत्वले राष्ट्रिय सभामा नियुक्त गरेपछि फेरि प्रधानमन्त्री बन्ने दाउ थाल्नुभयो । त्यो पनि भएन ।  संवैधानिक मर्यादा, प्रक्रिया र जनमतको सम्मान त्यहाँ गौण थियो। मुख्य कुरा सत्ता उपभोग थियो।

त्यो सम्भव नभएपछि उहाँले नेकपाको विभाजनमा भूमिका खेल्नुभयो। र, त्यो विभाजनले नेपाली कम्युनिष्ट आन्दोलनलाई दसकौँ पछाडि पुर्‍यायो।

पुराना मित्र, नयाँ मोर्चा, पुरानै प्रवृत्ति

एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी बनाउने नेता माधव नेपालसँग बामदेव फेरि जोडिन पुग्नुभयो। पुराना मित्र, पुरानै शैली। अहिले उहाँहरू समाजवादी मोर्चा निर्माण गर्ने प्रयासमा हुनुहुन्छ। भाष्य भने फेरि उही – वाम एकता, सशक्त विकल्प निर्माण, समाजवादको यात्रालाई अगाडि बढाउने। तर कार्यशैली भने फेरि उही – पदका लागि सौदाबाजी, गुटगत मोलमोलाइ र विचारभन्दा समीकरणको प्राथमिकता।

पछिल्लो समय एमालेबाट अलग भएका, माओवादी केन्द्र छाडेका, साना गुट पार्टी बनाएर निराश भएकाहरूको एक मात्र साझा बिन्दु देखिन्छ – बामदेव प्रवृत्ति। विचार, कार्यदिशा र जनताको बीचमा उत्तरदायित्व होइन, शक्तिको समीकरण मिलाएर फेरि केन्द्रमा फर्कने दाउ।

के यस्ता प्रवृत्तिले नेपालमा कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन सक्छ ?

विचार शून्य, अनुशासनविहीन, दलीय विचरण गर्ने, आत्मकेन्द्रित प्रवृत्तिहरूको जमातबाट के साँच्चै क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन सक्छ ? अवश्य सक्दैन ।

कम्युनिस्ट आन्दोलनको मूल मर्म जनताको नेतृत्वमा हुने वर्ग सङ्घर्ष हो। विचार, संगठन र जनसंगठनको संयोजनमा आधारित राजनीति हो। तर अहिलेको दृश्य नेतृत्वहरू विचार होइन, सिटको अङ्कगणितमा छन्। संगठन होइन, संसदीय जालोमा छन्। जनतासँग संवाद होइन, गुटको सम्झौतामा छन्। क्रान्तिको नाममा सत्ता मोह मात्र छ ।

कम्युनिष्ट आन्दोलन जनतासँग जोडिने माध्यम हो भन्ने मान्यता अहिलेको नेतृत्वमा हराएको देखिन्छ। बामदेव प्रवृत्तिका नेताहरूका लागि पार्टी केवल ‘सत्ता प्राप्तिको साधन’ हो। विचार र संगठन सत्तासीन भएपछि बेकार ठानिन्छ। अनि सुरु हुन्छ – गुट, फुट, जोडतोड र सौदाबाजी।

बामदेव गौतमको समग्र यात्रा यसैको उदाहरण हो। उहाँ एमालेमा हुँदा पनि अस्थिरता भित्र्याउनु भएको थियो। पार्टी फुटाएर एकता अभियानको नाममा पुनः सत्ता समीकरणको राजनीति गर्नु भएको थियो। नेकपा विभाजन गराएर माधव नेपालसँग मोर्चा बनाएर फेरि कम्युनिष्ट आन्दाेलनलाई धोका दिनुभयो ।

यी सबै तथ्यहरूले एकै कुरा देखाउँछन् – बामदेव गौतम प्रवृत्तिले नेपालमा कम्युनिष्ट आन्दोलनलाई टुक्रा–टुक्रा बनाएको छ। विचारको होइन, प्रवृत्तिको वर्चस्व बढाएको छ। पार्टीभित्र लोकतन्त्रको होइन, व्यक्ति केन्द्रित नेतृत्वको वर्चस्व बनाएको छ।

नयाँ पुस्ताले के सिक्ने ?

नेपाली वाम आन्दोलनको अर्को गम्भीर चुनौती हो – नयाँ पुस्ताले सिक्नुपर्ने पाठ के हो ? यदि उनीहरूले नेतृत्वमा बामदेव प्रवृत्तिका नेताहरूको अभ्यास देख्ने हो भने उनीहरूले के मान्ने,  के सिक्ने, के जान्ने ?

के राजनीति भनेको शक्ति र पदकै लागि गुट फेरिरहने अभ्यास हो ? के विचार र संगठन सत्ताको लागि मात्र हो ? के जनमतको अपमान गर्दै मनोनयनबाट प्रधानमन्त्री बन्ने चाहना राख्नु राजनीति हो ?

यी गम्भीर प्रश्न हुन्, जसको उत्तर वर्तमान नेतृत्वले दिन सक्नुपर्छ। नत्र भविष्यको पुस्ताले विचार र आन्दोलनप्रति वितृष्णा मात्र बोक्ने छ ।

प्रवृत्तिको राजनीतिबाट विचारको राजनीतिमा फिर्ता जाने समय

अब नेपाली कम्युनिष्ट आन्दोलनले विकल्प खोज्नुपर्छ – प्रवृत्तिमा होइन, विचारमा। बामदेव प्रवृत्तिबाट छुटकारा नपाएसम्म कुनै पनि वाम एकता दीर्घकालीन बन्न सक्दैन। न त जनताले विश्वास गर्छन्।

विचार, संगठन, निष्ठा र अनुशासनमा आधारित नयाँ राजनीतिक अभ्यास सुरु गर्न सकिएन भने बाँकी बाम आन्दोलन पनि इतिहासको पानामा सीमित हुनेछ। जनताले त्यो इतिहास सँगसँगै हेरेर भन्ने छन् – बकुल्ला हाँससँग मिल्दैन।

त्यसैले अब निर्णय नेतृत्वको हो – बामदेव प्रवृत्तिमा टिकिरहने कि कम्युनिष्ट आन्दोलनलाई विचारको बलमा पुनर्स्थापित गर्ने। फेरी कम्युनिष्ट पार्टी एकताको नाममा बामदेव, माधव नेपाल र प्रचण्ड जस्ता प्रवृत्तिलाई बोकेर, मिलाउँछु भनेर जनतालाई धोका दिइरहने ।