जनता टाइम्स

२९ असार २०८२, आईतवार १७:१३

शान्तिश्री सहितका ३ गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी


काठमाडौं, २९ असार । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली(अस्मिता थापा–लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो । आइतबार अपराह्न संस्थाका पदाधिकारीले ब्यूरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउले सामाजिक सद्भाव भड्काउन समेत उजुरीमा उल्लेख छ । यस्ता विकृत र अश्लिल गीतलाई नियन्त्रण गर्न माग गर्दै संस्थाले उजुरी दिएको हो । शुक्रबार पनि संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटेर यी गीतमा रोक लगाउन माग गर्दै ज्ञापन बुझाएको थियो । जवाफमा गृहमन्त्री लेखकले साइबर ब्यूरोलाई कलाक्षेत्रको साइबर अपराध हेर्ने गरि फोकल पर्सन तोक्न निर्देशन दिएका थिए ।