जनता टाइम्स

३१ असार २०८२, मंगलवार १६:५२

एमाले संगठन विभाग बैठककाे निष्कर्ष : पार्टी र नेतृत्व माथि भएको आक्रमणको प्रतिवाद गर्ने तयारी अझै पुगेन 


काठमाडौं, ३१ असार । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठक सम्पन्न भएको छ ।सोमबार विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षता तथा पार्टी महासचिव शंकर पोख्रेलको विशेष उपस्थितिमा सम्पन्न २३ औँ बैठकमा तोकिएको कार्यक्षेत्रको अनुगमन तथा समग्र संगठनात्मक कामको रिपोर्टिङका साथै यस बिचमा पार्टी केन्द्रद्वारा सञ्चालन गरिएको ३ महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अभियानको समीक्षा गरिएको विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

बैठकले आगामी वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको प्रारम्भिक खाका पनि तयार गरेको छ । त्यस्तै भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ । विभागको बैठकमा पार्टी महासचिव शंकर पोख्रेलले छलफलमा उठेका विभिन्न सवालहरूको विषयमा स्पष्ट पार्नुभएको ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैशाखमा बसेको २२ औँ बैठकको निर्णय बमोजिम विभागका सदस्यहरूलाई पार्टीको संगठनात्मक कामको अनुगमन गर्न कार्यक्षेत्र किटान गरी दिइएको जिम्मेवारीको व्यवस्थित रिपोर्टिङ बैठकमा लिइएको ढुङ्गेलले बताउनुभयो । स्थानीय तहका पार्टी सञ्चालन प्रक्रिया, बैठक सञ्चालन, निर्णय प्रक्रिया, कामको संयोजन, कार्यशैली, जनप्रतिनिधि र पार्टी नेतृत्व बिचको सम्बन्ध, लेखा प्रणालीको व्यवस्थापन, कार्यालय सञ्चालन, सदस्यता नवीकरण तथा बिस्तार लगायतका आन्तरिक पार्टी जीवनका बारेमा २१ बुँदा आधारित अनुगमनबाट प्राप्त भएको यथार्थ अवस्थालाई पहिचान गरी संगठन सुदृढीकरणका थप योजना निर्माण गर्ने बैठकले सङ्कल्प गरेको छ ।

बैठकमा वडा केन्द्रित पार्टी निर्माण अभियान अभियानको समीक्षा गरिएको छ । केन्द्रीय संगठन विभागको प्रस्तावमा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फागुन र चैत्रमा सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माण अभियान (जरा अभियान) को प्रारम्भिक समीक्षा गर्दा अभियानमा पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यताको नवीकरण र विस्तारका काममा प्रगति भएको, जनतासँग पार्टी नेता कार्यकर्ताहरूको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरू भएका र उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको बैठकको निष्कर्ष छ ।

अभियानले जिम्मेवारी प्राप्त पार्टी नेता कार्यकर्ताहरूको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको बैठकले निचोड निकालेको छ । अभियानको पछिल्लो अवधिमा राजावादी प्रतिगामी हर्कतका विरुद्ध जनसचेतनाका गतिविधि गर्नुपरेका कारण जरा अभियानका निर्धारित काममा केन्द्रित हुन सम्भव नभएको उल्लेख गर्दै अभियानमा गर्ने भनिएका कामहरूलाई प्रत्येक कमिटीले निरन्तरता दिन जरुरी सहको विभागले जनाएको छ ।

पार्टीका सम्पूर्ण जिल्ला अधिवेशनहरू सम्पन्न भएका, ९८ प्रतिशत पालिका अधिवेशनहरू सम्पन्न भएका, ८५ प्रतिशत वडा अधिवेशनहरू सम्पन्न भएका, १० हजार भन्दबढी टोल कमिटीहरू बनेको र पार्टी थप मजबुत र व्यवस्थित भएको निष्कर्ष बैठकले निकालेको छ ।

त्यस्तै पार्टी सम्बद्ध २३ वटा जनसंगठनहरुको केन्द्र र प्रदेशका सम्पूर्ण अधिवेशनहरू सम्पन्न भएका, आमरुपमा जिल्ला अधिवेशनहरू सम्पन्न भएका र ६० प्रतिशत पालिका स्तरका अधिवेशनहरू र कतिपय जनसंगठनहरुले वडा तहसम्म पनि कमिटी विस्तार गरेको, लामो समय पछि जनसंगठनहरुको अधिवेशन नियमित भएको र संगठनात्मक रूपमा जनसंगठन व्यवस्थित हुँदै गएको निष्कर्ष निकालिएको उहाँले जानकारी दिनुभयो ।

पार्टीको भूगोलका जिल्ला अधिवेशन २८ वटा सहमतिबाट र ४९ वटा निर्वाचनको प्रक्रियाबाट नेतृत्व निर्माण भएका साथै सहमति हुन नसकेका जनसंगठनका केन्द्रीय अधिवेशनहरू पनि निर्वाचनको प्रक्रियाबाट सम्पन्न भएको तथ्यलाई हेर्दा नेकपा एमालेको आन्तरिक जीवनमा राम्रो लोकतान्त्रिक अभ्यास भएको निष्कर्ष बैठकले निकालेको छ ।

पछिल्लो समय पार्टी र नेतृत्व माथि गरिएको हमला र गलत अफवाहको जमेर प्रतिवाद गर्न पार्टी पङ्क्तिलाई गरेको निर्देशन र तयारी अझै नपुगेको निष्कर्ष बैठकले निकालेको छ ।

पार्टी कमिटी वा जनसंगठनका अधिवेशनका क्रममा जिम्मेवारी बाहिर पर्नुभएका नेता र कार्यकर्ताको यथाशीघ्र उपयुक्त जिम्मेवारी व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई बैठकले अनुरोध गर्ने निर्णय गरेको छ । साथै जरा अभियान जस्तै अभियान लिएर जनताको घर घरसम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता बैठकले औँल्याएको छ ।

विधान महाधिवेशनको तयारीका सन्दर्भमा विधान संशोधन र संगठनात्मक दस्ताबेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई समग्र संगठनात्मक रिर्पोट, आवश्यक विवरण र सुझाव दिने बैठकले निर्णय गरेको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका काममा व्यवस्थित योजनाका साथ विभागलाई निरन्तर सक्रिय बनाउने निर्णय बैठकले गरेको छ । नेकपा एमालेका खास मूल्यहरू स्थापित गर्न र पार्टीलाई डिजिटलाइज प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने निर्णय बैठकले गरेको छ ।

पार्टी सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने  र त्यसलाई अनलाइनमा लैजाने व्यवस्थामा जाने निर्णय बैठकले गरेको छ । हरेक वर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने निर्णय भएको छ । सम्पूर्ण सदस्यलाई अनलाइनमा अभिलेखीकरण गर्ने काम सम्पन्न गर्ने निर्णय भएको ढुङ्गेलले बताउनुभयो । सदस्यता विस्तारमा निरन्तर जोड दिइरहने र मतदाताको ६ प्रतिशत सदस्य सङ्ख्या पुर्‍याउने बैठकले निर्णय गरेको छ ।

बैठकले सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षण सहितका बैठकको परिपाटी बसालेर स्तर उन्नत गर्ने निर्णय भएको छ । सम्पूर्ण टोल तहसम्म (करिब १७ हजार टोलमा ) पार्टी कमिटीहरू गठन गर्ने, सुचारु गर्ने र अधिवेशन गराउने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो । सबै जिल्लामा नेकपा एमालेको समग्र संगठनात्मक प्रोफाइल तयार पार्ने, जनसंगठनका तलसम्म कमिटी निर्माण गरिसक्ने, समुदायसँग जनसंगठन अभियान चलाउने, ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम चलाउने, हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै आयोजना गर्ने, पार्टी कमिटीको संस्थागत क्षमताको विकास, कार्यालय सञ्चालन, व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीको विषयमा प्रदेश स्तरमा कार्यशाला आयोजना गर्ने र पार्टी केन्द्रीय कमिटीले ०८२/०८३ का लागि जारी गर्ने वार्षिक कार्ययोजनाको प्रकाशमा प्रस्तुत कार्ययोजनामा आवश्यक परिमार्जन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनका विषयमा पार्टी केन्द्रीय कमिटीको बैठक पश्चात् जारी हुने संशोधनको प्रस्तावमा मर्यादित ढङ्गले सक्रियतापूर्वक छलफलमा भाग लिन र आवश्यक सुझाव पठाउन सम्पूर्ण पार्टी कमिटी र सदस्यलाई बैठकले आह्वान गरेको छ ।