जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार २०:२२

 पार्टी भित्रको अराजकता बन्द गराैँ, नत्र पार्टीले आफैँ रोक्छ : केपी ओली 


काठमाडौं, २ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र फैलिन थालेको अराजकताविरुद्ध कडा चेतावनी दिनुभएको छ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पोलिटब्युरो बैठकमा ओलीले पार्टीमाथि संगठित हमला भइरहेको बताउँदै भित्रैबाट पनि हमला रोक्नुपर्ने बताउनुभएको हो । ‘पार्टीका विरुद्ध ठूलो संगठित हमला छ, त्यही बेला पार्टी भित्रबाट भएका हमला रोकिनुपर्छ’, उहाँले भन्नुभयो ।

पार्टीभित्रको अराजकता नियन्त्रणमा लिन आवश्यक कदम चाल्नुपर्ने  ओलीले बताउनुभयो । ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले आफैँले रोक्छ’, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

ओलीले पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेकोबारे औपचारिक जानकारी नभएको बताउनुभयो। ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा मैले मिडियाबाट मात्र थाहा पाएको हुँ,’ उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दुईपटक पार्टीले राष्ट्रपतिमा सिफारिस गरेको स्मरण गराउँदै ओलीले त्यस बेला सक्रिय राजनीतिमा नफर्किने विश्वासका आधारमा जिम्मेवारी दिइएको स्पष्ट पार्नुभयो।

ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको खुलासा गर्नुभयो । सदस्यता दिने अधिकार पार्टी कमिटीको भएको उल्लेख गर्दै उहाँले सदस्यताको निर्णय कमिटीले गर्ने स्पष्ट पार्नुभयो । त्यसमा विधिसम्मत छलफल गरेर निर्णय  हुने ओलीले बताउनुभयो ।

पार्टी विधान छपाइसम्बन्धी विवादबारे पनि ओलीले बैठकमा धारणा राख्नुभयो। पछिल्लो समय विधान जालझेलपूर्ण तरिकाले छापिएको भन्दै नेताहरूले आलोचना गर्दै आएका छन्। ‘पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुन्छ तर, पार्टीमाथि आक्रमण भइरहेका बेला बाहिर गएर बोल्ने कुरा उचित हुँदैन’, ओलीले भन्नुभयो ।

उहाँले विधानको विषयमा कभर मात्र फरक परेको भन्दै आलोचना आवश्यक नरहेको बताउनुभयो। ‘कभर मात्र फरक पर्‍यो भनेर कर्ण थापाले बोलेको कुरा हो, अन्त्यमा कभरको मात्र कुरा रहेछ, किन यो बबाल ?’ उहाँले प्रश्न गर्नुभयो।

ओलीको पछिल्लो अभिव्यक्ति पार्टीभित्र पछिल्लो समय देखिएको मतभेद, असन्तुष्टि र आन्तरिक असहमतिको सन्दर्भमा आएको हो। विशेष गरी विधान विवाद, नेताहरूको सार्वजनिक अभिव्यक्ति र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिका कारण पार्टीभित्र विवाद बढेपछि आजकाे बैठकमा ओली कडा रूपमा प्रस्तुत हुनुभएको हो ।

बैठकमा ओलीले पार्टी पद्धति, विधान र आन्तरिक निर्णय प्रक्रियामाथि सबैको आस्था रहनुपर्ने उल्लेख गर्नुभयो। ‘पार्टीको नियम, निर्णय र अनुशासन सबैले मान्नुपर्छ अन्यथा पार्टीमा अराजकता बढ्छ, त्यसलाई पार्टीबाट रोकिनेछ’, उहाँले भन्नुभयो ।