काठमाडौं, ११ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता उनको सम्मानका लागि नवीकरण नगरिएको जिकिर गर्नुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा काठमाडौंमा आयोजित जातीय घटक संघहरूको विस्तारित बैठकमा आइतबार सम्बोधनका क्रममा पोखरेलले यस्तो तर्क गर्नुभएको हो ।
महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौँ केन्द्रीय कमिटी बैठकमा संचार माध्यम र सामाजिक सञ्जालको हल्लका कारण पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले अचानक प्रवेश पाएको बताउनुभयो । पूर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउन नहुने तर्क उहाँले गर्नुभयो । ‘हल्लाकै भरमा चर्चामा आएको त्यही विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुर्याउनु पर्ने अवस्था आयो’, उहाँले भन्नुभयो , ‘नेपाली सेनाको सुरक्षामा रहने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राखिरहनुपर्ने निचोडमा पार्टी रहेको थियो ।’ तर पनि पूर्वराष्ट्रपति भण्डारीले नै जोडबल गरेर आउन खोज्दा विषय पेचिलो बनेको उहाँको तर्क छ । ‘पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उहाँको सदस्यता नवीकरण नगर्ने निचोडमा बैठक पुगेको हो’, उहाँले भन्नुभयो । पोखरेलले राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीले सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको जिकिर गर्नुभयो । ‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नवीकरण प्रक्रिया अघि बढाउनु भएको थियो’, उहाँले भन्नुभयो, ‘पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले त्यो प्रक्रिया विधिसंगत नभएको ठहरसहित रद्द गरेपछि अब उहाँ कुनै पार्टीकोभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको छ ।’













प्रतिक्रिया दिनुहोस्