काठमाडौं, साउन १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै खालका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दोष सरकार र नेताहरूको टाउकोमा थुपारेर अरू उम्कन नमिल्ने बताउनुभयो । देउवाले सबैले आफ्नो आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि, आफू चाहिँ काम नगर्ने, नेतालाई दोष दिएर मिल्दैन नि’, उहाँले भन्नुभयो ।
कार्यक्रममा देउवाले व्यापारी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिएर उम्कन नमिल्ने बताउनुभयो । ‘व्यापार गर्ने व्यापारीले हो, उद्योग चलाउने उद्योगपतिले हो, समस्या केही छ भने भन्नुहोस्, के गर्नुपर्ने हो सरकारले गर्न तयार छ, तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि, आफूले पनि गर्नुपर्यो नि, आफू चाही केही नगर्ने अनि हामीलाई दोष दिने ? व्यापार सरकारले गर्दैन, उद्योग सरकारले खोल्दिँदैन, उद्योग खोल्नुहोस्, व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि’, उहाँले भन्नुभयो ।
देउवाले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्नुभयो । कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको देउवाले स्मरण गर्नुभयो ।
मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले नै देशमा उदारीकरणको नीति ल्याएको देउवाले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्