काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग भएको बताउनुभएकाे छ ।
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खिरखाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उहाँले युवा कृषिबाट अलग हुँदा देश समस्यामा परेकाे बताउनुभयाे । ‘जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेशिने अवस्थालाई बदल्ने संकल्प गर्नुपर्छ, नेपालमा जनसंख्याको ठूलो संख्यालाई रोजगारीमा समेट्ने क्षेत्र भनेकै कृषि हो’, उहाँले भन्नुभयो ।
उहाँले व्यवसायिक कृषि प्रणाली अघि नबढ्दा नयाँ पुस्ता कृषिमा आकर्षित हुन नसकेको बताउनुभयो। त्यसैले अबको युवा आन्दोलनको साझा विषय नै नयाँ पुस्तालाई कृषिमा जोड्नु हुनुपर्ने उहाँको भनाइ थियो। ‘कृषि क्षेत्रको विकासले नै विकासको आधारशीला निर्माण गर्छ’, उहाँले भन्नुभयो।
कृषि रूपान्तरण गर्न नसके देशको समुन्नति असम्भव हुने तर्क गर्दै उहाँले राजनीतिक परिवर्तनको काम भइसकेकोले अब आर्थिक रूपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्