जनता टाइम्स

१७ श्रावण २०८२, शनिबार २०:१०

एमाले गण्डकी प्रदेशको पूर्ण बैठक सुरु, पार्टीलाई अत्यधिक बहुमतले स्वीकार गर्ने वातावरण बनाउने गरी लाग्न महासचिवकाे निर्देशन


पोखरा, साउन १७ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ।

दुई दिनसम्म चल्ने बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतसहितको सरकार गठन गर्ने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न ‘मिसन र भिजन’सहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। ‘जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार गर्ने वातावरण बनाउन आवश्यक छ,’ महासचिव पोखरेलले भन्नुभयो।

पार्टीका उपमहासचिव तथा सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो कार्यकालमा लागू गरिएको दुई कार्यकालको सीमालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएकाले विधान संशोधन प्रस्ताव आएको बताउनुभयो। उहाँका अनुसार समृद्धि र विकास एमालेकै प्रभावशाली नेतृत्वमा सम्भव हुने भएकाले वर्तमान युगको मागअनुसार पार्टी नेतृत्वलाई अझ मजबुत बनाउन संशोधन प्रस्ताव अघि सारिएको हो।

‘नेतृत्व चयन मिहिनेत, अनुभव र क्षमताका आधारमा हुनुपर्छ, मन्त्रालय योजनामाफिक जनताको चाहनाअनुसार अघि बढिरहेको छ र परिणाम दिन प्रयत्नशील छ’,  उहाँले भन्नुभयो ।

स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले प्रभावशाली पार्टी निर्माण प्रभावशाली नेतृत्वबाट मात्र सम्भव हुने भन्दै सबै नेता–कार्यकर्तालाई एकता कायम गरेर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो। अर्का स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र अनुशासनहीनता हाबी हुन दिन नहुने बताउनुभयो। ‘पार्टीको नीति र निर्णयअनुसार सबै कमिटी र सदस्य दृढताका साथ लाग्नुपर्छ,’ अधिकारीले भन्नुभयो।

गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सुरु भएको बैठकमा प्रदेशभित्र भएका संगठनात्मक कार्यहरूको समीक्षा, आगामी रणनीति र अभियानबारे छलफल हुने बताइएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई बधाई ज्ञापनसहित सम्मान पनि गरिएको थियो।

बैठकमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू जगतबहादुर विश्वकर्मा, टुकराज सिग्देल, मनकुमारी जिसी, लिलाबहादुर थापा, केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, भीम कार्की, इन्द्रलाल सापकोटा, कृष्ण थापा, चुडामणि जंगली, बालसिंह काउछा मगर, सिता सुन्दास, प्रभा कोइरालालगायत नेताहरू सहभागी हुनुहुन्छ ।

बैठकमा प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मन्जु अधिकारी, उपसचिव दामबहादुर बिकलगायत नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे आ–आफ्नो धारणा राख्नु भएकाे छ।

प्रचार विभाग सचिव रामजीप्रसाद लम्सालका अनुसार बैठकले हालसम्मको गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ ।