जनता टाइम्स

१८ श्रावण २०८२, आईतवार १५:२०

नबुझ्नेले गाली गर्छन्, समाज व्यवस्थापनको लागि राजनीति अत्यावश्यक : केपी ओली


काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमानको भोगाइबाट अघि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले कसैलाई आरोप लगाउने भन्दा पनि आफ्नो तर्फबाट सकारात्मक काम गर्नुपर्ने बताउनुभयो । संविधान र प्रणालीलाई दोष दिएर पनि उम्कन नमिल्ने उहाँको धारणा छ । ‘ म प्रणालीलाई दोष दिइरहनु पर्छ भन्ने मान्दिन, यो व्यक्तिगत मनोवृत्ति हो’, उहाँले भन्नुभयो ।

उल्टो बाटो हन्नेले प्रणाली जति राम्रो भए पनि राम्रो नगर्ने उहाँले सुनाउनुभयो । त्यसैले प्रणालीलाई दोष दिनु भन्दा पनि त्यसको कार्यान्वयन गर्ने व्यक्ति सुध्रनु पर्ने ओलीको धारणा छ ।

उहाँले चुनाव खर्चिलो भयो भन्ने कुरा पनि व्यक्तिको आचरणमा भर पर्ने बताउनुभयो । आफू लगातार चुनाव जितेर आएको र गएको निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जितेको व्यक्ति भएको तर आफूले कहिल्यै चुनावमा पैसा खर्च नगरेको सुनाउनुभयो ।

सरकार कर्तव्यबाट निर्देशित भएर जनता प्रति जिम्मेवार हुनु पर्नेमा ओलीले जोड दिनुभयो । सरकारमा जो छ उनीहरूमा कर्तव्यबाट जिम्मेवारी बोध हुनुपर्ने ओलीको धारणा छ । ‘जिम्मेवार सरकार जनताप्रति उत्तरदायी हुन्छ’, उहाँले भन्नुभयो ।

रिस उठेका मानीहरूलाई गाली गर्न स्वतन्त्रता रहेको बताउँदै उहाँले आफूले कर्तव्यबाट निर्देशित भएर देश र जनताप्रतिको जिम्मेवारी बहन गरिरहेको बताउनुभयो । ‘गाली गर्नेले त डिस्नरी पल्टाएर गाली गरे पनि हुन्छ’, ओलीले भन्नुभयो ।

उहाँले समावेशितालाई बलियो बताउन सशक्तीकरण आवश्यक रहेको बताउनुभयो । सशक्तीकरण नगर्ने हो भने समावेशिताले केही पनि नगर्ने ओलीको धारणा छ । ‘मुख्य कुरा मानव जातिमा कुनै पनि विभेद हुनु भएन’, उहाँले भन्नुभयो ।

उहाँले कतिपयले राजनीतिलाई नबुझेर गाली गर्ने गरेका बताउनुभयो । ‘राजनीति समाज व्यवस्थापनको लागि गरिएको आविष्कार हो, कतिपयले राजनीतिलाई नबुझेर गाली गर्छन्, राजनीतिमा नमिलेको भए कतिपय कुरा मिलाउनु पर्छ, तर समाज व्यवस्थापनमा राजनीति अति आवश्यक छ’, उहाँले भन्नुभयो ।

अब पुराना गीत गाएर मात्र नहुने बताउँदै उहाँले नयाँ सोचका साथ अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेपाली संस्कार र संस्कृति माथि भएको आक्रमणको समेत प्रतिवाद गर्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अब जनताको लागि लोकतन्त्र, विकासका लागि लोकतन्त्र हो’, उहाँले भन्नुभयो ।

‌ओलीले अहिले पनि सोच जस्तो सुशासन दिन नसकिएको भए पनि सुशासन कायम गर्न सकिने बताउनुभयो । विकृत मानसिकतालाई सुधार्न समय लाग्ने भए पनि त्यसलाई सुधार्नु पर्नेमा उहाँको जोड छ ।

कसैकाे व्यक्तिगत इगाेले देश नचल्ने र चल्नु नहुने ओलीले बताउनुभयाे । ‘जित्नु इगाेले हाेइन देशले पर्छ’, ओलीले भन्नुभयाे ।