जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार २१:४०

एमाले राजनीतिको केन्द्र भागमा : मुख्यमन्त्री कँडेल


सुर्खेत, १९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेकपा एमाले राजनीतिको मुख्य केन्द्रमा रहेको बताएका छन् ।

आज नेकपा एमाले कर्णाली प्रदेश कमिटीको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले वर्तमान राजनीतिक अवस्थामा नेकपा एमालेको जिम्मेवारी झनै बढेको बताउनुभयाे। नेकपा एमाले लिने निर्णयहरूले सङ्गठनभित्र मात्र नभई देशको समग्र राजनीतिक अवस्थामा प्रभाव पार्ने मुख्यमन्त्री कँडेलको भनाई छ ।

मुख्यमन्त्री कँडेलले एमालेको विधान महाधिवेशनलाई सबै दलले चासोका साथ हेरेका बताउनुभयाे । ‘हामी अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छौँ, शासनसत्ताको नेतृत्वमा छौँ, हाम्रो निर्णयले अब देशको राजनीति, समाज र शासन प्रणालीमा प्रत्यक्ष असर पार्छ त्यस कारण जनतालाई केन्द्रमा राखेर निर्णय गर्नु पर्छ’, उहाँले भन्नुभयाे ।

बैठकमा पार्टीको आसन्न विधान महाधिवेशन, साङ्गठनिक सुदृढीकरण, सदस्यता नवीकरण लगाएतका विषयमा छलफल गरिएको थियो ।

बैठक नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा भएकाे हाे । बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू राजबहादुर बुढा, मिना सिंह रखाल, दल रावल, मोहनमाया ढकाल, दक्षिणा शाही, प्रदेश कमिटी सदस्यहरू तथा कर्णालीका दशवटै जिल्लाका जिल्ला अध्यक्षहरूको उपस्थिति थियो ।