जनता टाइम्स

२४ श्रावण २०८२, शनिबार १४:४८

अहिले आन्दोलनको मुख्य मोर्चा संवैधानिक, कानुनी र बौद्धिक अभ्यास : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, साउन २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका आदिवासी जनजातिहरूले आफ्नो आन्दोलनको वास्तविक क्षेत्र नबुझेका कारण अनावश्यक दुःख भोग्नुपरेको बताउनु भएको छ।

काठमाडौंमा आयोजित ३१ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आदिवासी जनजातिको संघर्ष सडकमा मात्रै सीमित हुनुनहुने स्पष्ट पार्नुभयो। अहिलेको अवस्थामा आन्दोलनको मुख्य मोर्चा संवैधानिक, कानुनी र बौद्धिक अभ्यासको क्षेत्र भएकाे उहाँले बताउनुभयाे । ‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होइन, बेला–बेला हामी सडकमा पनि जान्छौँ, आवश्यक परे जाने दिन आउन सक्छ, तर आजको दिनमा संघर्षको मुख्य क्षेत्र संवैधानिक छ, कानुनी क्षेत्र छ र बौद्धिक अभ्यासको क्षेत्र छ, हाम्रो आन्दोलनको क्षेत्र के हो भन्ने कुरा बुझ्नुपर्छ, त्यो नबुझ्दा हामीले दुःख पाइरहेका छौँ’, उहाँले भन्नुभयाे ।

मन्त्री गुरुङले आदिवासी जनजातिको भाषा संरक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई अत्यावश्यक बताउनुभयो। उहाँका अनुसार भाषाको जीवन्तता र पुस्तान्तरणका लागि एआईलाई प्रयोगमा ल्याउनु अपरिहार्य भइसकेको छ। ‘एआईको प्रयोगबिना जीवनको समृद्धि सम्भव छैन, तर यसलाई नियन्त्रित ढङ्गले प्रयोग गर्नुपर्छ, एआई मानवको हितका लागि र नियन्त्रणमा रहनुपर्छ’, गुरुङले भन्नुभयाे ।

कार्यक्रममा उहाँले आदिवासी जनजातिको भाषा संरक्षणका लागि प्रविधि, शिक्षा र नीति सबैको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। भाषासँगै सांस्कृतिक पहिचान र अधिकारको रक्षा गर्न पनि बौद्धिक र कानुनी संघर्षलाई सशक्त बनाउनुपर्ने उहाँकाे धारणा छ ।