जनता टाइम्स

२५ श्रावण २०८२, आईतवार १६:१९

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय झण्डासहित पर्वतारोही प्रकाशराज पाण्डेलाई पुन्जाक जाया आराेहणका लागि बिदाइ


काठमाडौं, साउन २५ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही रामेछापका प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुन्जाक जाया) आरोहणका लागि प्रस्थान गर्नुहुने भएकाे छ ।

भाेली त्यस तर्फ जान लाग्नुभएका पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको हाे। रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा पाण्डेलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिँदै यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरवान्वित बनाउने अपेक्षा व्यक्त गर्नुभयाे ।

यस अघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएका उहाँले ‘सेभेन समिट’ अभियानअन्तर्गत सन् २०२४ को जुनमा युरोपको उच्च शिखर माउण्ट एलब्रस र नोभेम्बरमा अफ्रिकाको उच्च शिखर किलिमन्जारो आरोहण गर्नुभइसकेको छ। यसै वर्ष फेब्रुअरीमा दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ पनि सफलतापूर्वक चढ्नुभएका उहाँ अब ओसिनियाको उच्च हिमाल आरोहण गर्न लाग्नुभएको हो।

प्रधानमन्त्री निवासमा नेकपा एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललगायतको उपस्थिति रहेको कार्यक्रममा ढुङ्गेलले पाण्डेलाई देशकै गौरवको प्रतीकका रूपमा चित्रण गर्दै अभियानमा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो।

हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गर्दै पर्वतारोहण र सामाजिक क्षेत्रमा सक्रिय पाण्डेले सन् २०१६ देखि आरोहण सुरु गर्नुभएको हो। सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसकेका उहाँ हाल ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै हुनुहुन्छ। जलवायु परिवर्तनका कारण पर्वतीय मुलुक नेपाल प्रत्यक्ष असरमा परेको हुँदा यसबारे सचेतना जगाउनु आफ्नो कर्तव्य भएकाे उहाँले बताउनुभयाे ।

कास्ट्रेन्स्ज पिरामिड ४,८८४ मिटर उचाइको चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो, जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ। विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ।

पाण्डेले यो आरोहणपछि क्रमशः अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गरी अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने योजना रहेको बताउनुभएको छ। मकालु आउट फिटको सहकार्यमा अभियान अघि बढाइरहनुभएका उहाँलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा आरोहण सामग्री उपलब्ध गराइरहेका छन्।

इण्डोनेसियापछि उहाँको लक्ष्य उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने रहेको छ।