जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार १४:४७

भिजिट भिसा प्रकरणमा छानबिनको माग कायमै : रास्वपा–राप्रपाको प्रतिनिधिसभा बैठक बहिष्कार


काठमाडौं, साउन २७। भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिँदै कार्यसूची अघि बढाउन लाग्दा दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद शिशिर खनाललाई बोल्ने समय दिनुभयाे। खनालले भिजिट भिसा सेटिङ प्रकरणमा सरकार र संसदले जवाफदेहितापूर्वक छानबिन नगरेको आरोप लगाउँदै जबसम्म हाम्रो मागअनुसार छानबिन समिति गठन हुँदैन, तबसम्म विरोध जारी रहने बताउनुभयाे। उहाँले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको दाबी गर्दै ती सबै प्रकरणमा पनि छानबिन गर्न माग गर्नुभयाे ।

राप्रपाका सांसद विना लामाले पनि सभामा बोल्दै यही माग दोहोर्‍याउनुभयाे। उहााले भिजिट भिसा प्रकरणमा निरन्तर दबाब दिँदै आए पनि सरकार र संसद् उदासीन देखिएको टिप्पणी गर्नुभयाे। ‘हाम्रो माग पूरा नभएसम्म बहिष्कार मात्र होइन, बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने निर्णय गरेका छाैँ’,  लामाले भन्नुभयाे ।

दुवै दलका सांसदहरूले आ–आफ्नो धारणा राखेपछि बैठक कक्षबाट बाहिरिँदै बहिष्कारको घोषणा गर्नुभयाे। यसअघि पनि रास्वपा र राप्रपा दुवैले गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिनको मागसहित प्रतिनिधिसभामा विरोध जारी राख्दै आएका छन्।