काठमाडौं, साउन २७ । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो व्यवहार सुधार्न आग्रह गर्नुभएको छ ।
उहाँले प्रतिनिधि सभाको मूल बैठक बहिष्कार गरेर संसदीय समितिमा मात्र सहभागी हुने प्रवृत्ति मेल नखाने बताउनुभयो । ‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ तर, यही मूल सदनले दिएको बिजनेस सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ, एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ, यो संसद् बहिष्कार गरेको के अर्थ ? केका लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ? ’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो।
बर्तौलाले रास्वपाका सांसदहरूले संसद् बहिष्कारको नाटक गरेर बाहिर निस्किएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्री र नेताहरू विरुद्ध अशिष्ट र अश्लील भाषा प्रयोग गरेको बताउनुभयो । बा, आमा, श्रीमती, हजुरबा–हजुरआमासम्मको नाममा गरिने गालीगलौज अस्वीकार्य रहेको उहाँले सुनाउनुभयो ।
बर्तौलाले यस्ता असभ्य व्यवहारले भविष्यमा पार्टीलाई नै ठुलो समस्या ल्याउने बत्ताउनुभयो । संगठनबद्ध अशिष्ट टिप्पणी र गालीगलौजको शृङ्खला रोक्न उहाँले आग्रह गर्नुभयो । ‘अश्लील र अशिष्ट शब्दहरू, असामाजिक शब्दहरू सामाजिक सञ्जालमार्फत विष वमन गरिरहनुभएको छ, हिले संसद्को लाइभ चलिरहेकै बेलामा सुरु भयो उहाँहरूबाट के के कमेन्ट आए अनुमान लगाउन सकिन्छ, कतिपय कुरा भन्न गाह्रो छ’, बर्ताैलाले भन्नुभयो ।
उहाँले उनले गलत कार्यशैली सुधार्न रास्वपा सांसदहरूलाई आग्रह गर्नुभयो । ‘हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने, असाध्यै असामाजिक शब्दहरू प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केलो छोरी, कसको के ! यो खालको बा को नाममा, आमाको नाममा, श्रीमतीको नाममा, हजुरबाको नाममा समेत, स्वर्गीय भएका हजुरआमाको नाममा समेत गालीगलौजको शृङ्खला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूबाट संगठित तरिकाबाट भइरहेको छ,’ बर्तौलाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्