काठमाडौं, साउन १ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले विगत ३५ वर्षमा नेपालमा कुनै उपलब्धि नभएको भन्ने टिप्पणीलाई योजनाबद्ध रूपमा फैलाइएको झुट र भ्रमको संज्ञा दिनुभएकाे छ ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभारम्भका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले विगतका दशकहरूमा मुलुकले पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा, कृषि, डिजिटल सेवा तथा संघीय संरचनालगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्नुभयाे।
उहाँले मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण, उत्तर–दक्षिण करिडोर, काठमाडौं–तराई द्रुतमार्ग, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, जलविद्युत उत्पादनमा भएको उल्लेखनीय वृद्धि, लोडसेडिङको अन्त्य, स्वास्थ्य तथा शैक्षिक पूर्वाधार विस्तार, सामाजिक सुरक्षा, डिजिटल नेपाल अभियान, स्थानीय तहमार्फत पूर्वाधार निर्माण र संघीय शासन प्रणाली कार्यान्वयनलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्नु भएकाे छ ।
बस्नेतले विगतका उपलब्धिको अवमूल्यन गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभएकाे छ । “यी उपलब्धिहरू पर्याप्त छैनन्, अझ धेरै गर्न बाँकी छ तर ‘३५ वर्षमा केही पनि भएन’ भन्नु पूर्ण रूपमा योजनाबद्ध फिँजाइएको झुट र भ्रम हो”, उहाँले भन्नुभयाे ।
वर्तमान सरकारतर्फ संकेत गर्दै उहाँले परिवर्तनको नारासहित सरकारमा पुगेकाहरूले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिनुपर्ने बताउनु भएकाे छ। “अब परिवर्तनको नारासहित आएको सरकारले यसभन्दा अझ उत्कृष्ट उपलब्धि हासिल गरोस् भन्ने शुभकामना छ, पोलमा बत्ती, गमलामा फूल वा भित्तामा चित्र बनाउने मात्र होइन, रोजगारी, उत्पादन, लगानी, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकासमा परिणाम देखाओस्,” उहाँले भन्नुभयाे ।
नयाँ आर्थिक वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै बस्नेतले “नयाँ आर्थिक वर्ष २०८३/८४ सफल रहोस्। समृद्ध नेपाल, सुखी नेपालीको अभियानले थप गति लिओस्,” भन्दै सबैमा शुभेच्छा व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्