जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार २०:०३

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत


काठमाडौं, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत खसेकाे छ  ।

९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गर्नुभएको हो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँ आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बन्नुभएको हाे।

मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिनुभएको हो । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका थिए ।