विराटनगर, साउन २९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढंगले पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
बिहीबार विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उहाँले संगठनलाई पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले धेरै सरकारी संरचनाहरू प्रभावकारी ढंगले सञ्चालन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। ‘नेपालमा संस्था खोल्ने तर त्यसलाई वास्ता नगर्ने प्रवृत्ति छ’, उहाँले भन्नुभयाे ।
पुराना संस्थाबाट उपलब्धि लिन सकिने भए पनि काम हुन नसकेको उल्लेख गर्दै उहाँले बाल संगठनलाई नयाँ सोचसहित पुनर्संरचना र क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो।
बालबालिका भविष्य र सपना भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले उनीहरूलाई असल संस्कार र समाजप्रतिको उत्तरदायित्वबोध गराउन संगठनको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
उहाँले कोशी प्रदेशमा रहेको बाल संगठनको भौतिक संरचना र सम्पत्तिको यथार्थ विवरण अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिनुभयो। सो विवरणका आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
संघीय सरकारको सहकार्यबाट मात्रै प्रदेशमा बाल संगठनलाई अघि बढाउन सकिने बताउँदै उहाँले संघीय सरकारले समेत यसतर्फ विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले संगठनको वर्तमान अवस्था र चुनौतीबारे प्रकाश पार्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्