जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार २०:१९

तामाकोशी–सुनकोशी किनारमा सतर्कता अपनाउन आग्रह


रामेछाप, साउन २९ गते । आउँदो शनिवार तामाकोशी र सुनकोशी नदी किनारमा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आह्वान गरेको छ।

कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार दोलखाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा जलाशय सफा (रेजर्भोयर फ्लसिङ) कार्य हुने भएकाले सो अवधिमा नदीको बहाव अचानक बढ्न सक्ने चेतावनी दिइएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रकाश प्रधानका अनुसार यही साउन ३१ गते शनिवार बिहान ५ बजेदेखि राति ८ बजेसम्म तामाकोशी र सुनकोशी नदी आसपासमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ।

त्यसै गरी, नदी किनारमा हुने धार्मिक संस्कार वा मृतकको दाहसंस्कारसमेत अत्यन्त सावधानीपूर्वक मात्र गर्न भनिएको छ। प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, यातायात व्यवसायी, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आह्वान गरेको छ।

यसै  बिच अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गत माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले पनि साे दिन सावधानी अपनाउन अनुरोध गरेको छ । ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका, वडा नं १ मा रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा (Reservoir Flushing) गर्ने कार्यक्रम रहेको हुनाले सो अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने-घट्ने चक्र भइरहने हुनाले सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न/नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन अनुराेध गरेकाे छ ।