जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार १६:०६

गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटे 


काठमाडौं, साउन ३०। गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन्।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले कुटपिटसम्बन्धी ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि, काठमाडौंमा चलाइएको अभद्र व्यवहार मुद्दामा ३० हजार रुपैयाँ धरौटी बुझाएर चक्रे दुई दिनअघि छुटेका थिए। त्यस लगत्तै उनलाई भक्तपुरको मुद्दामा पेशीका लागि लगिएकाे थियाे ।

यो मुद्दा २०८१ साल भदौ ४ गते भएको कुटपिट घटनासँग सम्बन्धित हो। भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनेर टिप्पणी गरेका थिए। त्यसपछि चक्रे मिलनले फोनमार्फत रायमाझीलाई धम्क्याएका थिए। सोही दिन चक्रेका सहयोगी अजित खवाससहितको समूहले रायमाझीमाथि सांघातिक हमला गरेको आरोप छ।

पीडित रायमाझीले दिएको जाहेरीका आधारमा २०८१ असोज ९ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो, जसमा पहिलो प्रतिवादीको रूपमा चक्रे मिलनको नाम रहेको छ।