काठमाडौं, मंसिर १ । विश्वकप छनोट खेल्न शनिबार भुटान उड्नुपर्ने खेलाडी सामान लिन घर जाने बहानामा शुक्रबार रातभर ठमेलमा बरालिएपछि निलम्बनमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट टिमका स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई कारबाही गरेको हो ।
एन्फा प्रवक्ता किरण राईले शुक्रबार अबेर रातिसम्म ठमेलका विभिन्न क्लब चहारेको बलियो सूचना आएपछि तत्काल निलम्बन गरिएको बताउनुभयो । ‘हामीले खेलाडीको सेवा–सुविधादेखि फुटबल विकासका लागि सक्दो प्रयास गरिरहेका छौँ, तर खेलाडी भने क्लोज क्याम्प छाडेर नाइट क्लबमा पुग्नु दुःखद छ,’ राईले भन्नुभयो । ठमेलमा उनीहरू रातभर मदिरामा लठ्ठिएर डिस्कोमा झुमेको मात्रै होइन, मोटरसाइकल दुर्घटनामा परेको पनि सूचना एन्फामा आएको थियो । एन्फाका अनुसार खेलाडीहरू मदिरामा लठ्ठिएर रातभर डिस्कोमा मस्ती मात्रै गरेनन्, उनीहरू चढेको मोटरसाइकलसमेत दुर्घटनामा परेको छ, खुट्टामा चोट लागेको छ ।
शुक्रबार उनीहरू सागको क्लोज क्याम्पमा थिए । शनिबार भुटान जाने तयारीका लागि लगेज मिलाउनुपर्ने भन्दै साँझ त्यहाँबाट निस्किएको सागका टिम म्यानेजर अरुणमान जोशीले बताउनुभयो । ‘हाम्रो टिम सांग्रीला ब्लु होटल कुपन्डोलमा बसेको थियो । हामीसँग भएका राष्ट्रिय टिमका सबै सदस्य लगेज मिलाउनुपर्ने भन्दै छुटी मागेर साँझ ७ बजेतिर यहाँबाट गएका हुन्,’ जोशीले भन्नुभयो, ‘त्यसपछि उनीहरू कता गए मलाई थाहा भएन ।’
सागको क्लोज क्याम्पबाट निस्किएपछि चार खेलाडी ठमेल गएका थिए । खेलाडीको हर्कत थाहा भएपछि शनिबार बिहान एन्फा पदाधिकारी र प्रशिक्षक योहान कालिनबीच बैठक भएको थियो । बैठकले चारै खेलाडीलाई कुवेतविरुद्ध ३ मंसिरमा भुटानमा हुने खेलमा सहभागी नगराउने निर्णय गरेको छ । एन्फा प्रवक्ता राईले उनीहरूलाई तत्काल टिमबाट हटाउँदै कुवेतविरुद्धको खेलमा सहभागी नगराउने तथा थप कारबाहीबारे विस्तृत रिपोर्ट आएपछि निर्णय हुने बताउनुभयो । विमल टिमका भरपर्दा ट्राइकर हुन् ।
विश्वकप छनोटमै चाइनिज ताइपेविरुद्ध २–० को जित निकाल्दा मिडफिल्डर अञ्जनले दुवै गोल गरेका थिए । अर्का मिडफिल्डर सन्तोष र डिफेन्डर दिनेश पनि टिममा उत्कृष्ट खेलाडीमा पर्छन् । भरपर्दा खेलाडीले नै अनुशासन तोड्दा विश्वकप छनोट खेलमा नेपाललाई दबाब बढेको छ । एन्फाले शनिबार भुटान उडाउन २३ खेलाडी तयार पारेको थियो । तर, चारजना कारबाहीमा परेपछि २० खेलाडी मात्रै लगेको छ । सुवास गुरुङलाई शनिबार नै टिममा थपेर लगिएको हो
प्रतिक्रिया दिनुहोस्