जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १२:५१

ब्यवसायीसामु अर्थमन्त्री खतिवडाको घोषणा : जतिसुकै अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारोमा पार्दिन


काठमाडौं, मंसिर १ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू जतिसुकै अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुनेगरी अर्थतन्त्रमा असर पर्ने काम भने नगर्ने घोषणा गर्नुभएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री खतिवडाले राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । अर्थमन्त्री मन्त्री खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वाभाविक रहेको धारणा पनि राख्नुभयो । करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार गर्दै उहाँले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको प्रष्टिकरण दिनुभयो ।

सरकार अध्याँरोबाट उज्यालोतर्फ अगाडि बढिरहेको तथ्य पनि खतिवडाले राख्नुभयो । ‘लामो समय अध्याँरोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । उहाँले यस बर्ष अवसरको बर्ष हुने ठोकुवा पनि गर्नुभयो । ‘यो वर्ष अवसर छ आउनु, अर्को वर्ष के हुन्छ भन्न सकिन्न,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । अहिले राजश्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको तर्क पनि उहाँले गर्नुभयो ।

अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको उहाँको निश्कर्ष थियो । बिगतमा अध्याँरोमा बसेर व्यवसाय गरिरहेकाहरुलाई औपचारिक दायरामा आउने अवसर रहेको भन्दै उहाँले यसको उपयोग गर्न आग्रह गर्नुभयो । आर्थिक वृद्धिको लक्ष्यमा अडिग रहेको भन्दै उहाँले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार नै आर्थिक वृद्धि हुने ठोकुवा गर्नुभयो ।