जनता टाइम्स

११ भाद्र २०८२, बुधबार २०:३२

सात दिनभित्र दर्ता नहुने सामाजिक सञ्जाललाई  नेपाल  भित्र  निष्क्रिय गराइने


काठमाडौं, भदाै ११। सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभयो। प्रवक्ता गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यसहित ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चार मन्त्रालयमा सूचीकरणको प्रक्रिया सुरु गर्न आह्वान गरिएको हो।

सरकारको निर्णय अनुसार तोकिएको अवधिमा सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइनेछ। तर, सूचीकरण पूरा गरेपछि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिई सोही सामाजिक सञ्जाललाई पुनः सक्रिय गराइने व्यवस्था रहने प्रवक्ता गुरुङले बताउनुभयो।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ।

बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति पनि प्रदान गरेको छ।

यस्तै प्रवक्ता गुरुङले नेपाललाई नसोधी लिपुलेक प्रयोगमा भारत र चीनबीच भएको सहमतिसम्बन्धी विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित देशका राष्ट्रप्रमुखसँग छलफल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भदौ १४ गतेदेखि चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग साइडलाइन भेटवार्ता गर्ने योजना रहेको जानकारी दिनुभयो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१. उद्योग, वाणिज्य नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष तथा आपूर्ति आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने । केवलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

२ मित्रराष्ट्र भियतनामका उपराष्ट्रपति HE Ms Vo Thi Anh Xuan ले २०८२ साल भदौ ७ देखि ९ गतेसम्म गर्ने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

३ .भौतिक पूर्वाधार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा । व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

४. रक्षा मन्त्रालय नेपाली सेनातर्फ चारजना उपरथीहरूको सरुवा गर्ने, एकजना सहायक रथीलाई उपरथी । दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने ।

५. २०८२ भदौ १६ देखि १८ गतेसम्म कोरियाको सियोलमा आयोजना हुने Global Green Growth Institute सँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई स्वीकृति प्रदान गर्ने ।

६. २०८२ भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने 6th Forum of  Ministers and Environment Authorities of Asia pacific मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने ।

७. अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को मिति २०८२ भदौ ३० देखि असोज ३ गतेसम्मVianna International Center, Vienna मा आयोजना हुने 69th IAEA General .Conference कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि श्री विश्वबाबु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने ।

८. सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा देहायबमोजिम गर्नेः (क) सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने ।

(ख). तोकिएको अवधिमा सूचिकरण हुन नआउने वा सूचिकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचिकरण गरेमा सोही क्षणवाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।

९ नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक रिक्त पदमा श्री इन्द्र प्रसाद आचार्यलाई बढुवा गर्ने ।

१० राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव श्री भरतमणी सुवेदीले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।