काठमाडौं,भदौ १३। प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न जनवादी गणतन्त्र चीनको भ्रमणबारे संघीय संसद्को प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै शुक्रबार सम्बोधन गर्नुभएकाे छ । उहाँले आफ्नो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल यही भदौ १४ गतेदेखि १८ गतेसम्म (तदनुसार सन् २०२५ अगस्ट ३० देखि सेप्टेम्बर ३) पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीका अनुसार मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा हुने यस भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुनु रहेको छ ।
प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन सन् २००१ मा स्थापना भई आज विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकको रुपमा विकसित भइसकेको उल्लेख गर्दै यसमा चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य रहेको बताउनुभयो । अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र भएको र नेपालसहित १५ देश संवाद साझेदार राष्ट्र रहेको जानकारी उहाँले दिनुभयो । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको स्मरण गर्दै उहाँले यस संगठनमार्फत नेपालले आफ्ना दृष्टिकोण स्पष्ट पार्दै लाभ हासिल गर्ने अपेक्षा गर्नुभएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा हुने ती उच्चस्तरीय भेटवार्तासँगै उहाँलाई दिइने रात्रिभोजमा पनि नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गते (सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले शिखर सम्मेलनकै क्रममा विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका तय भएको जानकारी दिनुभयो । हालसम्म रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेट तय भइसकेको छ ।
भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले चीनको बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनेछ । यसमा ५० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने चीन सरकारले जानकारी दिएकाे छ ।
प्रधानमन्त्री ओलीले यस भ्रमणबाट नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र एससिओ शिखर सम्मेलनमा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा तथा प्राथमिकता प्रस्तुत भई मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री तथा सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्