जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार ०९:०७

चीनको विजय उत्सवमा जापानी पूर्वप्रधानमन्त्री पनि सहभागी हुने, प्रधानमन्त्री ओलीका आलोचकको मुखमा लाग्यो बुजो


काठमाडौं, भदाै १४। चीनले जापानविरुद्धको युद्धमा आफ्नो विजयको ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको विशेष समारोहमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा समेत सहभागी हुने भएपछि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताकाे विषयलाई लिएर प्रश्न उठाउँदै आएका आलोचकहरूको मुख बुजो लागेको छ।

चिनियाँ विदेश मन्त्रालयले सेप्टेम्बर ३ मा बेइजिङमा हुने सैन्य परेड तथा स्मारक कार्यक्रममा हातोयामाको सहभागिता पुष्टि गरेको हो। यसअघिकाे २०१५ काे ७०  औँ स्मृति समारोहमा जापानका पूर्वप्रधानमन्त्री मुरायामा तोमिचीलाई समेत आमन्त्रण गरिएको थियो। तर उहाँ स्वास्थ्य समस्या भएका कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएको थिएन।

यसपटकको समारोहमा प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन पनि सहभागी हुने जनाइएको छ। नेपालमा केही नेताहरूले ‘यो कार्यक्रम जापानविरुद्ध लक्षित भएकाले प्रधानमन्त्री ओली सहभागी हुनु हुँदैन’ भन्ने अभिव्यक्ति दिइरहेका बेला जापानकै पूर्वप्रधानमन्त्री सहभागी हुने निश्चित भएपछि ती तर्कहरू स्वतः फिका बनेका छन्।

चीनले आयोजना गर्न लागेको यो स्मारक कार्यक्रम ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। द्वितीय विश्वयुद्धमा जापानी साम्राज्यवादविरुद्ध लड्दा चीनले ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको थियो। लाखौँकाे जीवन गुमेको र देशको पूर्वाधार ध्वस्त भएको अवस्थामा १९४५ मा हासिल गरिएको विजयलाई चीनले आफ्नो राष्ट्रिय गौरवका रूपमा लिएको छ। त्यसैले प्रत्येक दशकमा हुने विशेष स्मरणोत्सव चीनको इतिहास र आत्मसम्मानसँग जोडिएको मानिन्छ।

८० औँ वार्षिकोत्सवलाई अझ विशेष बनाइएको छ । किनकि चीनले अहिले आफूलाई विश्व शक्तिका रूपमा प्रस्तुत गरिरहेको समय हो। यस अवसरमा हुने सैन्य परेडमार्फत चीनले आफ्नो सैन्य क्षमता मात्र होइन, अन्तर्राष्ट्रिय मित्रता र ऐतिहासिक सन्देश पनि विश्वसमक्ष देखाउन चाहेको छ। यही कारण यो समारोहमा रूस, उत्तर कोरिया जस्ता परम्परागत सहयोगी राष्ट्रका शीर्ष नेतृत्वको उपस्थिति रहनेछ।

जापानकै पूर्वप्रधानमन्त्रीको सहभागिताले भने समारोहको कूटनीतिक सन्देशलाई अझ व्यापक बनाउने देखिएको छ। यसले चीन र जापानबीचको सम्बन्धलाई ‘शत्रुताबाट सहकार्यतर्फको यात्रा’ भनेर बुझाउन सकिने संकेत पनि दिएको छ। चीनले यसलाई आफ्ना आलोचकहरूलाई जवाफ दिने अवसरका रूपमा प्रयोग गर्न सक्छ।

नेपालका लागि यो अवसर कूटनीतिक दृष्टिले महत्त्वपूर्ण देखिएको छ। विश्व राजनीतिमा चीन, जापान, अमेरिका र भारतबीचको सन्तुलन मिलाउनु पर्ने अवस्थामा नेपालले आफ्नो छिमेकी चीनको ऐतिहासिक स्मारक कार्यक्रममा सम्मानपूर्वक उपस्थिति जनाउनु द्विपक्षीय सम्बन्धका लागि सकारात्मक मानिएको छ। तर यसबारेमा आन्तरिक रूपमा आलोचना भइरहेको थियो। हातोयामाको सहभागिता सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले गरेको निर्णय थप औचित्यपूर्ण देखिएको छ।