कञ्चनपुर, मंसिर २ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टमाथि पुनः अनुसन्धान गर्न मृतककी आमाले माग गर्नुभएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तले आज प्रमुख जिल्ला अधिकारीसँग भेटेरै बिष्टमाथि पुनः अनुसन्धान गर्न माग गर्नुभएको हो ।
दुर्गाले आफुले किटानी जाहेरी दिँदा समेत दिलिपमाथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार बैद्यसँग यस्तो माग गर्नुभएको हो । दुर्गाले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत भदौं २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिनुभएको थियो । तर प्रहरीबाट अनुसन्धान नभएको भन्दै निर्मलाकी आमा दुर्गाले आज कञ्चनपुरका प्रजिअ बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग गर्नुभयो ।
‘प्रहरीले लिएको बयानमा दिलिपले हत्या गरेको स्वीकार गरेका छन, जुन जुन विषय उतिबेला बोले, त्यही विषय अहिले पनि बोलिरहेका छन,’ दुर्गाले भन्नुभयो, ‘गत वर्ष बोलेका विषय र अहिले बोलेका विषय पुरै मिलेका छन् ।’ निर्मलाकी आमा दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने उल्लेख गर्दै सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथि समान्य केरकार नगरेको बताउनु भयो ।
यता कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताउनु भएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौं, निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रकृया अघि बढाएका छौं,’ एसपी आचार्यले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्