जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १६:१९

देश बनाउने जिम्मा एमालेले लिन्छ : विष्णुप्रसाद पौडेल 


रुपन्देही, भदौ १४ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ ।

शनिबार मर्चवारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीप्रति जनता र नेताहरूको आकर्षण बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बलियो पार्टी बिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्व अध्यक्षहरूसहित, एमालेमा प्रवेश गर्नुभएको छ, यसबाट म निकै खुसी छु ।’

उपप्रधानमन्त्री पौडेलले मर्चवारलाई आगामी दुई–चार वर्षभित्र बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउन प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण र अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो । ‘आजको मितिदेखि मर्चवारलाई पछाडि पर्न दिने छैनौँ,’ उहाँले स्पष्ट पार्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लिला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले ठोस काम गरेर देखाउने विश्वास दिलाउनुभयो ।

त्यसैगरी, सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाले उपप्रधानमन्त्री पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ्ग रोड निर्माण गर्न माग गर्नुभयो । शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । एमालेमा प्रवेश गर्दै शुक्लाले भन्नुभयो, ‘बलियो पार्टी बिना विकास सम्भव छैन भन्ने बुझेर मैले एमाले रोजेको हुँ ।’

कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई–मधेसको समृद्धि एमालेकै नेतृत्वमा सम्भव हुने विश्वास व्यक्त गर्दै नवप्रवेशीलाई स्वागत गर्नुभयो ।

रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार मानिन्छ । उर्वर भूमि, कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रलाई लामो समयसम्म उपेक्षा गरिएको भए पनि पछिल्ला केही वर्षयता विकासका कामले गति लिन थालेको छ । स्थानीय अगुवा नेताहरूको भनाइमा, संघीय र प्रदेश सरकारको प्राथमिकतामा परेको मर्चवार अब पछाडि नपर्ने विश्वास गरिएको छ ।