जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १६:३२

रामेछापको उमाकुण्ड गाउँपालिकामा अब ‘पहिला योग–ध्यान, त्यसपछि कक्षाकोठा’


रामेछाप, भदाै १४ । रामेछापको उमाकुण्ड गाउँपालिकाले नयाँ अभ्यासको थालनी गर्दै गाउँभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि योग–ध्यान अनिवार्य सुरु गरेको छ।

‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने तालिम सम्पन्न गरी औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो।

गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई–दुई जना, आधारभूत विद्यालय (कक्षा १–८) बाट एक–एक जना, प्रत्येक वडास्थित स्वास्थ्य संस्थाबाट एक–एक जना स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ३० जनालाई योग तथा ध्यानसम्बन्धी तालिम दिएको थियो। तालिम प्राप्त शिक्षकमार्फत विद्यार्थी, अभिभावक र समुदायमा योग शिक्षा विस्तार गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो।

अध्यक्ष सुनुवारका अनुसार योगले मानिसलाई निरोगी बनाउने मात्र होइन, विद्यार्थीहरूको स्मरणशक्ति वृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। उहाँले भन्नुभयो, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ भए मात्र विद्यार्थीहरू अध्ययनमा ध्यान केन्द्रित गर्न सक्छन्, त्यसैले कक्षा सुरु हुनुअघि योग–ध्यान अभ्यासलाई अनिवार्य गरिएको हो।’

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई दैनिक जीवनशैलीमा ध्यान, शारीरिक व्यायाम र सकारात्मक सोच विकसित गर्ने अभ्यास गराइनेछ। स्वास्थ्यकर्मी र आमा समूहमार्फत समुदायमा पनि योगको महत्व फैलाउने योजना गाउँपालिकाले अघि सारेको छ।

स्थानीय अभिभावकहरूले विद्यालयमा सुरु गरिएको योग कार्यक्रमलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। उनीहरूको भनाइमा, यसले विद्यार्थीहरूलाई अनुशासनबद्ध, शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्नेछ।

गाउँपालिकाले यो अभ्यासलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै ‘स्वस्थ गाउँपालिका’ अभियानमा रूपान्तरण गर्ने तयारी गरेको जनाएको छ।