काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।
चीनको तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङसँग शनिबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूमा आधारित नेपाल-चीन सम्बन्ध समस्यारहित रहेको बताउनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गरी दुवै नेताले नेपाल-चीन सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्नुभएको र आगामी दिनहरूमा पारस्परिक रूपमा लाभदायक सहयोगलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाएको छ ।
प्रधानमन्त्री ओलीले २०२५ मा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ । उहाँले एससिओमा नेपालको सदस्यताको आकाङ्क्षालाई समर्थन गर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभएको छ ।
बिआरआई अन्तर्गत पहिले नै सहमति भइसकेका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने आशा व्यक्त गर्दै उहाँले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु लचिलोपन र जनता-जनता सम्बन्ध जस्ता क्षेत्रहरूमा सहयोगको लागि अनुरोध गर्नुभएको दूतावासले जनाएको छ ।
लिपुलेकबाट सीमा व्यापारमा भारत र चीनबीच हालै भएको समझदारीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले त्यसमा कडा आपत्ति जनाएको उल्लेख गर्नुभएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा चीनका राष्ट्रपति सी जिनपिङले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न नेपाललाई सहयोग गर्न चीनको तत्परता व्यक्त गर्नुभएको दूतावासले जानकारी दिएको छ । उहाँले संयुक्त राष्ट्र संघ र एससीओ लगायत बहुपक्षीय मञ्चहरूमा चीनले नेपालसँग सहकार्य गर्ने पनि बताउनुभएको छ ।
चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तको दृढतापूर्वक पालना गरेकोमा नेपाललाई धन्यवाद दिँदै दुई देशबीच सहमति भएका उच्चगुणस्तरको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाहरूको कार्यान्वयन मार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग हुने दोहोर्याउनु भयो ।
ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार दिउँसो जनवादी गणतन्त्र चीनको भ्रमणको क्रममा तियानजिन पुगेको थियो । तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई चीनको भन्सार सामान्य प्रशासनको चिनियाँ कम्युनिष्ट पार्टी समितिकी मन्त्री तथा सचिव श्रीमती सुन मेइजुन, तियानजिन जन कांग्रेसका अध्यक्ष यु युनलिन र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको दूतावासले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्