जनता टाइम्स

१६ भाद्र २०८२, सोमबार २१:११

चुनावलाई अवसर प्राप्तिको माध्यमका रूपमा मात्रै लिने सोच बदलिनुपर्छ : शंकर पोखरेल


काठमाडौं, १६ भदौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको नीतिलाई राष्ट्रको नीति बनाउन सकेमात्र एमाले निर्णायक शक्ति बन्न सक्ने बताउनुभएको छ ।

एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ को विमोचन समारोहमा सोमबार ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै महासचिव पोखरेलले पार्टीलाई सबै तहका सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामर्थ्य निर्माण गर्नु हो, जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने अवस्था हुन्छ, तब मात्रै एमाले निर्णायक शक्ति बन्दछ, त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्ने हुन्छ ।’

हाल एमाले सरकारको नेतृत्वमा रहे पनि आफ्नो नीति राष्ट्रको नीति बनाउनसक्ने एकल सामर्थ्य अझ बन्न नसकेको स्वीकार गर्दै महासचिव पोखरेलले अब पार्टीले वर्ग सङ्घर्षलाई चुनाव केन्द्रित बनाउनुपर्ने बताउनुभयो । ‘हाम्रो वर्ग सङ्घर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो, तर पछिल्लो समय हामीले चुनावलाई अवसर प्राप्तिको माध्यमका रूपमा मात्रै लिने गरेका छौँ, यो सोच बदलिनुपर्छ’, उहाँले भन्नुयभयाे ।

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले पार्टी निर्माणमा चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै उहाँले ती प्रवृत्तिलाई पराजित गर्न सक्दा मात्रै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न सकिने धारणा राख्नुभयो । साथै आउँदो दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा लेखक नेता आनन्दप्रसाद पोखरेलले कम्युनिष्ट पार्टी निर्माणका सिद्धान्तबारे उल्लेख गरेको बताउँदै यसले कार्यकर्तालाई पार्टी निर्माणमा प्रेरित गर्ने धारणा राख्नुभयो ।

पुस्तकका लेखक नेता पोखरेलले आफ्नो कृतिमा १४ वटा खण्ड रहेको जानकारी दिँदै त्यसमध्ये १२ वटा खण्डमा कम्युनिष्ट पार्टी निर्माणबारे र बाँकी दुई खण्डमा समसामयिक विषय समेटिएको बताउनुभयाे ।