काठमाडौं, भदौ १९। नेकपा एमालेको सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनको तालिका तय गरेको छ।
शुक्रबार बिहान ११ बजे हुने औपचारिक उद्घाटन सत्र करिब ४० मिनेटमा सकिने तय भएको छ । उद्घाटनपछि महाधिवेशन दस्ताबेज प्रस्तुतिमा केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नरहने गरी गरिएको अघिल्लो निर्णय सच्याउन माग गर्दै फरक मत पेश गर्नुभएको छ । पोखरेलले आफ्नो फरक मतमा, केन्द्रीय कमिटीको नवौँ बैठक (५–६ साउन २०८२) मा भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा सदस्यता सम्बन्धी छलफल ‘स्वाभाविक वातावरणमा नभएको’ उल्लेख गर्नु भएको छ।
पूर्वउपाध्यक्ष भण्डारीले पार्टीलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले उहाँको वर्तमान व्यक्तित्व एमालेका लागि ‘महत्त्वपूर्ण सम्पत्ति’ भएको जिकिर गर्नु भएको छ । उहाँले भण्डारीलाई एमालेको राजनीतिमा आउनु दिनु पर्ने मत राख्नु भएको छ ।
यस अघि केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने भन्दै पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्