काठमाडौँ, भदौ २०। नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपाली को खाका अघि सारेको छ। शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमार्फत यो खाका सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा उहाँले मानव जातिको अन्तिम उद्देश्य सुख प्राप्ति रहेको र त्यसका लागि समृद्धि हासिल गर्नु अनिवार्य पूर्वशर्त हुने उल्लेख गर्नुभएको छ। उहाँका अनुसार राष्ट्र समृद्ध हुनु र जनता सुखी हुनु समाजवादको लक्ष्य हासिल हुनु हो। ‘नेपाली मौलिकतासहितको यस समाजवादलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र गन्तव्यका रूपमा व्याख्या गर्न सक्छौँ,’ अध्यक्ष ओलीको भनाइ छ।
प्रतिवेदनमा समृद्धि र सुखका परिभाषा शब्दकोश र विश्वव्यापी अवधारणासँगै जोडेर व्याख्या गरिएको छ। उहाँले समृद्धिलाई केवल कूल ग्राहस्थ उत्पादनको वृद्धिमा सीमित नराखी नागरिकको आधारभूत आवश्यकताको परिपूर्ति र जीवनस्तरमा आएको सुधारसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभएको छ।
दीर्घकालीन योजनाका सन्दर्भमा उहाँले पन्ध्रौँ पञ्चवर्षीय योजना निर्माणसँगै २५ वर्षे दीर्घकालीन सोच पनि तर्जुमा गरिएको जानकारी दिनुभएको छ।
विक्रम संवतकाे एक्काइसौँ शताब्दीको अन्त्यसम्म नेपाललाई समुन्नत राष्ट्र बनाउन एमालेले समृद्धिका चार आयाम पहिचान गरेको छ । सर्वसुलभ आधुनिक पूर्वाधार, मानव पुँजी निर्माण, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व र समतामूलक राष्ट्रिय आय त्यसका चार आयाम रहेका छन् ।
त्यस्तै सुखका ६ आयामलाई प्रतिवेदनमार्फत प्रस्तुत गरिएको छ – परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र सम्मान। यी आधारभूत आयाममा थपघट गर्न सकिने भए पनि समृद्धि र सुख हासिल गर्न यी विषय अत्यन्तै महत्त्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ।
उहाँले समृद्धि मापन गर्न नागरिकको जीवनस्तरलाई आधार बनाउनुपर्ने स्पष्ट पार्नुभएको छ। ‘जनताको औसत आयु बढ्यो कि? साक्षरतामा प्रगति भयो कि? मातृ–शिशु मृत्युदर घट्यो कि? नागरिकले स्वास्थ्य, शिक्षा, आवास र सामाजिक सुरक्षा पाए कि? यस्ता आधारमा मात्र समृद्धिको मूल्याङ्कन गर्न सकिन्छ,’ उहाँको भनाइ छ।
सुखलाई उहाँले अनुभूतिजन्य विषय बताउनुभएको छ। ‘यदि नागरिकलाई खाने, बस्ने, स्वास्थ्य उपचार र शिक्षा जस्ता आधारभूत चिन्ता छैन भने मात्र उनीहरूले सुखको अनुभूति गर्न सक्छन्,’ उहाँले प्रतिवेदनमार्फत प्रष्ट पार्नुभयो।
उहाँका अनुसार समाजमा समान मर्यादा, अधिकारको समानता र सुरक्षाको प्रत्याभूतिले मात्र नागरिकलाई सुख दिलाउन सक्छ। अध्यक्ष ओलीले मानव जीवनका सहज वृत्ति र चेतनशील आकाङ्क्षालाई जोड्दै लेख्नु भएको छ, ‘जैविक आवश्यकता पूरा हुनु मात्रै पर्याप्त छैन, मानिसले अधिकार र सम्मान खोज्छ। आधारभूत आवश्यकताको सहज परिपूर्ति नै सुखको आधार हो।’
उहाँले समाजवादी प्रणाली निर्माणको क्रममा समृद्धि र सुखका यी आधारभूत आयामलाई सुनिश्चित गर्दै लैजानुपर्ने निष्कर्ष प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्