जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार २०:५४

नेताहरू कुहिरोको काग बनेर यता र उता उड्दा पनि एमाले कार्यकर्ता बहकिएनन् : केपी ओली 


काठमाडौं, भदौ २० । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले कार्यकर्ताले थेगेको पार्टी भएको बताउनुभएको छ ।

शुक्रबार ललितपुरको गोदावरी स्थित सनराइज हलमा नेकपा एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले पार्टी संकटमा परेको बेला नेताहरू विचलित हुँदा पनि कार्यकर्ता एकढिक्का भएर पार्टी जोगाएका बताउनुभयो । त्यस बेला पार्टी प्रतिको निष्ठा सबैभन्दा दह्रो गरी महिलाहरूले देखाउनुभएको उहाँले दोहोर्‍याउनुभयो । ‘मूर्धन्य भनिएका नेताहरू कुहिरोको काग जस्तो कहिल यता उडेका छन्, कहिले उता उडेका छन्, तर कार्यकर्ता बहकिएनन्’, ओलीले भन्नुभयो ।

पार्टी विभाजन गर्नेहरूले केही चोटपटक लगाएका भए पनि कार्यकर्ताले त्यो घाउ मेटाएका उहाँले बताउनुभयो । आधा भए पनि पार्टी चाहिन्छ भनेर अदालत धाउनेहरूलाई पार्टी प्रति कुनै माया नभएको कारण पार्टी फुटाएर हिँडेका ओलीको भनाइ छ । ‘हामीले आधा गर्न मानेनौँ, त्यसो गर्नु हुँदैन भन्यौँ, उनीहरूले केही चोटपटक लगाए, तर कार्यकर्ता पङ्तिले बडो सजकताका साथ, पार्टी जगायो, पार्टी अगाडि बढायो’, उहाँले भन्नुभयो ।

ओलीले आफूलाई पार्टी र पार्टीका नेता कार्यकर्ताको व्यवहार प्रति गर्व भएको बताउनुभयो । उहाँले नेता–कार्यकर्ताको सजगता, समर्पण र विश्वास प्रति गर्व गर्नुभयो ।

अहिले पार्टीमा केही अनुशासनमा कमी, अराजकता र बेलगाम प्रवृत्ति बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । आफू प्रति उदार र अरू प्रति कडा हुनुपर्छ भन्ने प्रवृत्ति पार्टीमा देखिएको उहाँले बताउनुभयो ।

इतिहास र योगदान नभएका आरीबाट घोप्टाइएका तत्त्वहरू अहिले देशमा सलबलाएका बताउँदै ओलीले खोज्दै जाने हो भने उनीहरूको वास्तविकता खुल्दै जाने बताउनुभयो । एमाले जस्तो इतिहास बोकेको पार्टीलाई आरी घोप्टिएझैँ गरी आएकाहरूले हल्लाउन नसक्ने ओलीले दाबी गर्नुभयो । एमाले लामो त्याग, बलिदान, सङ्घर्ष र क्षतिबाट अहिलेको अवस्थामा आइपुगेको उहाँले स्मरण गराउनुभयो ।

विरोधीहरूले हल्ला फिँजाए जस्तो एमाले जनताबाट अलग नभएको उहाँले बताउनुभयो । त्यसकै परीक्षणको लागि एमालेले झुलाघाट–चिवाभञ्ज्याङ अभियान चलाएको ओलीको भनाइ छ ।

एमाले आर्थिक, सामाजिक रूपान्तरणको अभियन्ता भएको उहाँले स्पष्ट पार्नुभयो । ‘विकास, सामाजिक न्याय, समानता, उत्पादन, विकास, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले अगुवा पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । हामी विकास गर्दै, परिवर्तन गर्दै हिँडेका छौँ, सुमुुसुमु हिँडेका मात्रै छैनौँ, त्यतिकै उमेर कटाएका छैनौँ, सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग पनि छैन, सच्चाइमा हामीसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कसैसँग छैन’, उहाँले भन्नुभयो ।

एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु पर्ने बताउँदै उहाँले एमालेको नीत नै नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय नीति भएको ओलीले दाबी गर्नुभयो । २०८४ को निर्वाचनमा एमालेले कम्तीमा एकल बहुमत ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेका सम्पूर्ण नेता कार्यकर्ता परिचालित भएर जनताको बिचमा जाने हो भने एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने ओलीले दाबी गर्नुभयो ।

एमाले पनि सरकारमा रहेकोले आउने निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । निष्पक्ष र स्वतन्त्र रूपमा आउने निर्वाचन हुने भएकोले सबैलाई यस परिस्थितिलाई ध्यानमा राखेर आफ्ना गतिविधि अघि बढाउन आग्रह गर्नुभयो ।

आफू हरेक पटक विदेश जाँदा देशको पक्षमा काम गरेर फर्कने गरेको ओलीले बताउनुभयो । यसले विरोधीहरूलाई भतभत पोलेर पानी खाने गरेका ओलीको भनाइ छ । आफ्ना विरुद्ध अनेक ढङ्गले कुप्रचार गर्ने गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । के गर्ने, के नगर्ने, के बोल्ने, के नबोल्ने भन्ने प्रति आफू र आफू नेतृत्वको सरकार स्पष्ट रहेको उहाँले बताउनुभयो । आफू नेतृत्वको सरकारले राष्ट्रिय हित, विश्वशान्ति, न्याय र विश्व हितका विरुद्ध कुनै पनि खालको चिन्तन नराख्ने ओलीले स्पष्ट पार्नुभयो ।

ओलीले आफू जहाँ पुग्दा पनि जुनसुकै ठाउँमा राष्ट्रिय हितको पक्षमा बोल्ने बताउनुभयो । सोही अनुसार चीन जाँदा पनि लिपुलेकको कुरा आफूले उठाएको ओलीले बताउनुभयो ।

लिपुलेकका सम्बन्धमा भारत र चीन बिच भएको सम्झौता प्रति नेपालको आपत्ति रहेको आफूले स्पष्ट ढङ्गले राखेको ओलीले जानकारी दिनुभयो । वार्तामा चीनका राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता प्रति चीनको सम्मान, समर्थन र विश्वास रहेको स्पष्ट पार्नुभएको ओलीले बताउनुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपाली नेपाली विशेषताको समाजवाद भएको बताउँदै एमाले त्यसैको गन्तव्य बोकेर अघि बढेको बताउनुभयो । सामाजिक जीवनका मानवीय आवश्यकता पुरा गर्ने गरी एमाले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।