काठमाडौं, भदौ २१ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी अरू कुनै पार्टी वा शक्तिबाट पूरा हुनु असम्भव रहेको बताउनुभएको छ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले नेपाली राजनीतिको विगत, वर्तमान र सम्भावित भविष्यबारे विस्तृत चर्चा गर्दै एमाले मात्र समाजलाई समृद्धि, स्थायित्व र समाजवादतर्फ डोर्याउन सक्षम रहेको तर्क प्रस्तुत गर्नुभयो। उहाँले प्रतिवेदनमा अन्य दलहरूको भूमिका र सीमाबारे विस्तृत विश्लेषण गर्नुभएको छ।
अध्यक्ष ओलीका अनुसार नेपाली कांग्रेस पुरानो र प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएको पार्टी भए पनि लोकतन्त्रको रक्षा र समाज निर्माणमा असफल भइसकेको ‘टेस्टेड’ शक्ति हो। २००७ सालपछि कांग्रेसले क्रान्तिपक्षिय शक्तिलाई समेट्न नसकेको, २०१५ सालमा दुई तिहाइ बहुमतसहित सरकारमा पुग्दा पनि उपलब्धि जोगाउन नसकेको, २०४८ र २०५६ सालमा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाएको र अन्ततः २०५९ सालमा प्रजातन्त्र राजाको हातमा पुग्ने अवस्था सिर्जना भएको उहाँले स्मरण गराउनुभयो ।
अध्यक्ष ओलीले कांग्रेसले अवलम्बन गरेको नवउदारवाद आर्थिक नीति विफल भइसकेको र त्यसले अब समाजलाई समृद्धि दिने नेतृत्व गर्न सक्ने सम्भावना नभएको ठहर गर्नुभयो। उहाँले कांग्रेसबारे थप स्पष्ट गर्दै लोकतन्त्रको आन्दोलनलाई समेट्ने जिम्मेवारी पूरा गर्न नसकेको मात्र होइन, मुलुकलाई स्थिर र समृद्ध बनाउने अवसर गुमाएको आरोप लगाउनुभयो। उहाँका अनुसार कांग्रेसले पाएको ऐतिहासिक अवसरलाई बारम्बार आफ्नै कमजोरी र अन्तरकलहले गुमायो। बहुमतको आधारमा सरकार सञ्चालन गर्ने क्षमता देखाउन नसक्दा अन्ततः राजतन्त्र बलियो हुने अवस्था सिर्जना भएको ओलीको मूल्याङ्कन छ।
उहाँले नेकपा माओवादी केन्द्रको भूमिका पनि कठोर ढङ्गले मूल्याङ्कन गर्नु भएको छ । उहाँका अनुसार कुनै बेला माओवादीले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एण्टिथेसिस’का रूपमा सशस्त्र युद्धको बाटो रोजेको थियो। सेना बिनाको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने आग्रह, बहुदलीय प्रतिस्पर्धाको अस्वीकृति र एकदलीय अधिनायकत्वको अभ्यास विफल भइसकेको उहाँको ठहर छ। ‘प्रचण्ड पथ’ भन्ने नाममा अघि सारिएको अवधारणा अहिले इतिहासमा निर्जन बाटोतिर थन्किएको मात्र होइन, त्यसबाट उकासिएका नेताहरूका लागि ‘माओवादी’ ट्याग नै भारी बनेको उहाँले टिप्पणी गर्नुभएको छ।
ओलीले शान्ति प्रक्रियापछि माओवादीले अगाडि सारेका प्रायः सबै प्रयोग असफल भएको उल्लेख गर्नुभयो। सत्ता कब्जाको रणनीति, सेनामा समूहगत समायोजनको माग, जातीय राज्यको अवधारणा र विभाजनकारी सोचले मुलुकलाई अस्थिरता, अवसरवाद र भ्रष्टतामा धकेलेको उहाँको आरोप छ । उहाँका अनुसार यी सबै कारणले गर्दा माओवादी अहिले वैचारिक, संगठनात्मक र चारित्रिक हिसाबले क्षयीकरणको प्रक्रियामा छ। संसद्मा केही सिट र गठबन्धनको सहारामा सरकारमा सहभागी रहन सक्ने भए पनि विचार र दृष्टिकोणका आधारमा समाजको नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको ओलीको दाबी छ।

मधेस केन्द्रित दलहरूको मूल्याङ्कन गर्दै ओलीले ती दलहरूको सोच सङ्कीर्ण, यथास्थितिवादी र राष्ट्रियताबारे त्रुटिपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय एकता र सार्वभौमसत्ताका सवालमा ती दलहरूले कमजोर दृष्टिकोण अपनाएका छन्, जसका कारण राष्ट्रको दीर्घकालीन नेतृत्व गर्ने आधार नै छैन। उहाँले मधेसवादी दलहरूले पटक–पटक देखाएको अवसरवाद, तत्कालीन लाभका लागि अपनाइने नीतिगत दोधार र विभाजनकारी सोचले मुलुकलाई अस्थिर बनाउने खतरा रहेको टिप्पणी गर्नुभयो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरूबारे पनि ओलीले प्रष्ट धारणा राख्नु भएको छ । उहाँका अनुसार राजावादी दलहरूको मूल लक्ष्य संविधानलाई नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा मच्चाउने र सामन्ती सोचलाई पुनः जीवन्त बनाउने रहेको छ। राजतन्त्र फर्काउने सपना र धर्मलाई राजनीतिक हतियार बनाउने चाहनाले लोकतान्त्रिक युगमा नेतृत्व गर्ने कुरा कल्पनाभन्दा बाहिर भएको उहाँको ठहर छ। उहाँले पछिल्लो समय राजावादी नाममा देखिएको अराजकता स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
अध्यक्ष ओलीले प्रतिवेदनमा नयाँ शक्तिहरू र पपुलिष्ट धारबारे पनि विश्लेषण गर्नुभएको छ। उहाँका अनुसार समाजमा विद्यमान असन्तुष्टि, गुनासो र बेथितिलाई उपयोग गर्दै केही दल र नेताहरू नाटकीय ढङ्गले राजनीतिक रङ्गमञ्चमा उदाएका छन्। एमाले विभाजन, जनादेश प्राप्त सरकारलाई परमादेशमार्फत विस्थापन र त्यसपछि बनेका नीतिहीन गठबन्धनले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरेको अवस्थामा यी दलहरूलाई अवसर प्राप्त भएको उहाँको ठहर छ। ओलीले यी नयाँ शक्तिहरूलाई ‘पपुलिष्ट’ भन्दै समस्या मात्र देखाउने तर समाधान नदिने समूहको रूपमा चित्रण गर्नुभएको छ।
उहाँका अनुसार पपुलिष्ट नेताहरूको हातमा प्रश्नहरूको चाङ छ तर उत्तर छैन। उनीहरूसँग विचार छैन, विगतको योगदान छैन, वर्ग आधार छैन र भविष्यको गन्तव्य पनि छैन। यही कारण यस्ता शक्तिहरू तलाउमा देखिने तरङ्गजस्तै उठेर छिट्टै हराउने सुनिश्चित भएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ‘हामीले सुरुदेखि नै भनेका थियौँ, यो कुनै विकल्प होइन, हुन सक्दैन,’ ओलीले प्रतिवेदनमार्फत स्पष्ट पार्नुभएकाे छ ‘दुई वर्ष बितिसक्दा समाजले पनि निष्कर्ष निकालेको छ–पपुलिज्म कुनै समाधान वा विकल्प होइन।’
उहाँका अनुसार विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा एमाले नै समाजवाद निर्माणको ऐतिहासिक अभियानको सारथि हो भन्ने कुरामा अब कुनै द्विविधा छैन।
ओलीको प्रतिवेदनले एमालेको आगामी मार्गचित्र पनि स्पष्ट गर्ने प्रयास गरेको छ। उहाँले जनताको बहुदलीय जनवादलाई विचारका हिसाबले एक मात्र जीवन्त सिद्धान्तको रूपमा प्रस्तुत गर्दै समाजवादको आधार निर्माणतर्फको यात्रामा एमालेकै भूमिका निर्णायक हुने बताउनुभएको छ। उहाँका अनुसार मुलुकलाई समृद्ध र स्थिर बनाउन आर्थिक रूपान्तरण, सामाजिक न्याय र राजनीतिक स्थायित्वको संयोजन आवश्यक छ, जुन केवल एमालेकै नेतृत्वमा सम्भव छ।
प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीभित्रका कमजोरी र चुनौती पनि औँल्याउनु। संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र, पारदर्शिता र कार्यकर्ताको अपेक्षालाई सम्बोधन गर्नुपर्ने विषय अझै बाँकी रहेको उल्लेख गर्नुभएको छ ।उहाँले एमालेलाई समाजवाद निर्माणको यात्रामा अग्रणी शक्ति बनाउने आत्मविश्वास प्रतिवेदन मार्फत प्रकट गर्नुभएको छ ।
अध्यक्ष ओलीले प्रतिवेदनमार्फत स्पष्ट गरे कि समाजवादको आधार निर्माण केवल राजनीतिक नारा नभई ऐतिहासिक जिम्मेवारी हो। यो अभियान कुनै अल्पकालीन रणनीति नभई दीर्घकालीन ऐतिहासिक प्रक्रियाको परिणाम हो, जसलाई पूरा गर्ने सामर्थ्य केवल एमालेसँग मात्र छ। अन्य दलहरूको असफलता, पपुलिज्मको क्षणिकता र राष्ट्रियताको सवालमा देखिएको कमजोरीका कारण एमालेबाहेक अरू कुनै विकल्प समाजको अगाडि छैन भन्ने प्रतिवेदनको मुख्य सन्देश छ ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनलाई पार्टीभित्रका कार्यकर्ताले आत्मविश्वास र चुनौती दुवैको रूपमा लिनुभएको छ। प्रतिवेदनले पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउने, वैचारिक स्पष्टता दिने र आगामी राजनीतिक रणनीति तय गर्ने आधारको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यसले पार्टीभित्रको संगठनात्मक स्थायित्व मात्र नभई नेपाली राजनीतिको दीर्घकालीन दिशा पनि प्रभाव पार्ने बताइएको छ।
प्रतिवेदनले नेपाली राजनीतिमा वर्तमान अस्थिरता, सरकार विस्थापन र गठबन्धनको प्रभावलाई पनि मूल्याङ्कन गरेको छ। यसमा पार्टी नेतृत्वले विगतका अनुभवबाट सिकेर भविष्यका चुनौतीको सामना गर्ने रणनीति स्पष्ट गरेको छ। समाजमा बढ्दो असन्तुष्टि, जनताको अपेक्षा र राजनीतिक विकल्पहरूको स्थिति स्पष्ट पार्दै ओलीले एमालेको अग्रणी भूमिकालाई प्रष्ट पार्नु भएको छ । यो प्रतिवेदन केवल पार्टीभित्रको राजनीतिक रिपोर्ट नभई मुलुकका लागि दिशानिर्देशक दस्तावेजको रूपमा पनि बुझिएको छ। अध्यक्ष ओलीले स्पष्ट गर्नु भएको छ कि, राजनीतिक विकल्पको कमी, पपुलिष्टकाे अस्थायित्व र वैचारिक स्पष्टताको अभावका कारण केवल नेकपा एमाले मात्र समाजवाद निर्माणको ऐतिहासिक जिम्मेवारी वहन गर्न सक्षम छ।
एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीको प्रतिवेदनले यसरी पार्टीको ऐतिहासिक जिम्मेवारी, वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र भविष्यको राजनीतिक मार्गचित्र सबै पक्षलाई समेट्दै सन्देश दिएको छ। समाजवाद निर्माण, स्थायित्व र समृद्धिको यात्रामा केवल एमाले नै सारथि बन्ने, अन्य दलहरू असक्षम रहेको र पपुलिष्ट प्रवृत्ति अस्थायी भएको प्रतिवेदन मार्फत स्पष्ट भएको छ।













प्रतिक्रिया दिनुहोस्