ललितपुर, भदौ २२ । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत ललितपुरको गोदावरीमा भइरहेको बन्दसत्रमा समूहगत प्रस्तुति जारी रहेको छ ।
शनिबार विभिन्न १० वटा समूहमा भएको छलफलको निष्कर्ष आज बिहानदेखि टोली नेताहरूले प्रस्तुत गरिरहनु भएको छ । बन्दसत्र बिहान ८ बजेबाट सुरु भएको हो।
प्रत्येक समूहले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा उठेका विषयलाई स्पष्ट पार्ने र मार्गनिर्देशन गर्ने तयारी रहेको छ। अध्यक्ष ओलीको सम्बोधनसहित विधान महाधिवेशन आजै समापन हुने कार्यक्रम छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचना आधार बनाएर १० वटा समूहमा विभाजन गरिएको थियो। कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए। त्यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि, केन्द्रीय कार्यालय र विभागीय संरचनाका सहभागीहरूले पनि प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न गरेका थिए।
आजको बन्दसत्रमा प्रत्येक समूहका टोली नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिरहेका छन्। कोशी समूहको तर्फबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मधेसबाट प्रदेश अध्यक्ष चण्डेश्वर मण्डल, वाग्मतीबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, कर्णाली समूहबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह, सुदूरपश्चिमबाट प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, लुम्बिनीबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र गण्डकी समूहको तर्फबाट कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ प्रस्तुतिमा हुनुहुन्छ। यस्तै सल्लाहकार आयोजकको तर्फबाट चूडामणि जङ्गली, गैरभौगोलिक तथा जनसंगठनको तर्फबाट भक्त गुरुङ, र केन्द्रीय निकाय तथा आयोजकको तर्फबाट शिव अधिकारीले समूहगत प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ ।
यसअघि महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सल्लाहकार प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आफ्ना निकायका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा देशभरिबाट २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना सहभागी गरी जम्मा २ हजार ३ सय ४१ जनाको उपस्थिति रहेको छ।













प्रतिक्रिया दिनुहोस्