जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार १६:११

नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुन नमानेर बस्ने कुरा सह्य हुँदैन : केपी ओली 


काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतालाई क्षणिक स्वार्थ वा कविताजस्तो भावनामा सीमित गर्न नहुने बताउनुभएको छ ।

ललितपुर, गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलको प्रस्तुतीकरणपछि आइतबार सम्बोधन गर्दै उहाँले नेकपा एमाले वाकस्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान गरेर आएको शक्ति भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, तर नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुन नमानेर बस्ने कुरा सह्य हुँदैन ।’

अध्यक्ष ओलीले केही मानिसहरूलाई ‘विरोध मात्र गर्ने पात्र पुतली’ भन्दै आलोचना गर्नुभयो । उहाँले कहलिएका बुद्धिजीवीको चिन्तन नै स्वतन्त्र नभएको र आफूलाई ठूलो बुद्धिजीवी ठान्नेहरूले समाजलाई भड्काउने काम गरेका बताउनुभयाे ।

‘जेनजी’ पुस्ता देशलाई माया गर्ने पुस्ता भएको उल्लेख गर्दै उहाँले त्यसलाई भड्काउन खोज्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चार जनाको रोजगारीभन्दा ठूलो कुरा देशको स्वाधीनता हो, संविधान, कानुन, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता नमान्ने कुरा कतै स्वीकार्य हुँदैन, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, र स्वाभिमानबाटै स्वतन्त्रता प्राप्त हुन्छ ।’