जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार २०:४१

२९ बुँदे प्रस्ताव पारित गर्दै सकियाे एमालेकाे दाेस्राे विधान महाधिवेशन (विज्ञप्ति सहित)


ललितपुर, भदाै २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै अत्यन्त सफलतापूर्वक आज सम्पन्न भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गते पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष र भव्य समारोहबीच उद्घाटन गर्नुभएको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव, सांगठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरी सम्पन्न भएको हाे ।

विधान महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएको थियो । ती समूहहरूमा खास गरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि अत्यन्त सौहार्दपूर्ण वातावरणमा घनिभूत छलफल भएको थियो । छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको महाधिवेशन पछि पार्टीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका का.बा. अध्यक्ष मीनप्रसाद गुरूङ, बाग्मती प्रदेश समूहबाट  प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, कोसी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसंगठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समूहगत प्रस्तुतिपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाका बारेमा जवाफ दिनुभएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले जारी गर्नु भएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको स्पष्ट गर्नुभयो । उहाँले मार्क्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताउनुभयो । अध्यक्ष ओलीले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्नुहुँदै पार्टीका सही नीति र विचारलाई जनतामा पुर्‍याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विधान संशोधन सम्बन्धी प्रस्तावका बारेमा सविस्तार प्रष्ट पार्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको भन्दै त्यो निन्दनीय भएको बताउनुभयो । उहाँले विधानको प्रस्तावनामा राखिएको नेपाली मौलिकता र विशेषतामा आधारित समाजवादका बारेमा स्पष्ट गर्दै नेपालले अन्य मुलुकका समाजवादको नक्कल नगर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले पार्टी सही नीति, सक्षम तथा भरोसायोग्य नेतृत्वका साथ अगाडि बढिरहेको बताउँदै पार्टीका नीतिलाई राष्ट्रका नीतिमा अनूदित गर्न मिसन – २०८४ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्नु आवश्यक रहेको हुँदा सोही उत्साह र आत्मविश्वासका साथ फर्कन सहभागी प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमाथि आएका सुझावका लागि धन्यवाद दिनुका साथै जिज्ञासाको जवाफ दिनुभएको थियो । सो क्रममा उहाँले जनताको बहुदलीय जनवादलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताउनुभयो ।

जबजले दिशानिर्देश गरे बमोजिम पार्टी निर्माणमा लोकतान्त्रीकरणको अगुवाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले पार्टी निर्माणको केन्द्रबिन्दु मिसन २०८४ हुनुपर्ने र पार्टीलाई आगामी निर्वाचनमा एकल बहुमत दिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने अभिभारामा जोड दिनुभयो । उहाँले राजनीतिक प्रतिवेदन पारित भएपछि त्यसको आधारमा र प्राप्त सुझावका आधारमा अन्य प्रतिवेदनहरू परिमार्जन र परिष्कृत गरिने स्पष्ट गर्नुभयो ।

विधान महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत निर्वाचित गरेको छ | २५ सदस्यीय निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष, कुन्साङ लामा सचिव र सदस्यहरूमा समीर नेपाल, टङ्कप्रसाद उप्रेती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्णकुमारी गुरूङ, काशीचन्द्र बराल, डा. हरिप्रसाद भण्डारी, सूर्यबहादुर शाही, भूराज राई, भरत पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, दमन तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरूङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे, बिनादेवी शाह हुनुहुन्छ ।

महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गर्नुभएको विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ ।