जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार ०८:१३

भीमफेदी कारागारबाट २६० कैदी भागे  


काठमाडाैं, भदाै २५ । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा ठूलो संख्यामा कैदी भागेका छन्।

कारागार प्रशासनका अनुसार राति १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरू तीनवटा गेट तोडी बाहिर निस्कने प्रयास गरेका थिए। त्यसक्रममा कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर करिब २ सय ६० जना भागेका हुन्।

सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेकामा करिब २ सय ३० जनालाई पुनः नियन्त्रणमा लिएर कारागारमै फर्काइएको कारागार प्रशासनले जनाएको छ। भाग्ने क्रममा कैदी र सुरक्षाकर्मीबीच करिब ४ घण्टा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए। सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन्। उनीहरूकाे अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको हो।

कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका छन्। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २ सय राउन्ड हवाई फायर गरेको थियो भने सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर र अश्रुग्याससमेत प्रहार गरेको थियो।

भीमफेदी कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रशासनले जनाएकाे छ ।