काठमाडौं, भदौ २५ । मंगलबार राति १० बजेदेखि देशभर नेपाली सेना र अन्य सुरक्षा निकाय परिचालन भएपछि बुधबार बिहान १० बजेसम्म काठमाडौँसहित विभिन्न स्थानमा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइएको छ।
सुरक्षा निकायका अनुसार, विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट, आगजनी र व्यक्तिको जीउधनमा क्षति पुर्याउने उद्देश्यले केही व्यक्तिहरू विध्वंसात्मक तथा उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए। काठमाडौँको गौशाला, चाबहिल र बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ।
त्यसै गरी, काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ जना पक्राउ परेका छन्। उनीहरूका साथ विभिन्न किसिमका हतियार ३१ नाल, म्यागेजिन र गोलीगठ्ठा समेत बरामद गरिएको छ।
२३ जना नेपाल प्रहरी र ३ जना गैरसैनिक घाइतेलाई सैनिक अस्पतालमा उपचारका लागि पठाइएको छ । सुरक्षा निकायले सर्वसाधारणलाई सतर्क रहन भन्दै अराजक गतिविधिमा संलग्न व्यक्तिहरू खोजी जारी राखेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्