काठमाडौं, भदौ २५ । राजधानीस्थित डिल्लीबजार कारागारमा कैदीबन्दी भाग्ने प्रयास भएपछि बुधवार बिहानैदेखि स्थिति तनावग्रस्त बनेको छ। तर, नेपाली सेनाले हस्तक्षेप गरेसँगै परिस्थिति नियन्त्रणमा आएको प्रशासनले जनाएको छ।
मंगलबारदेखि नै प्रहरी ड्युटीमा अनुपस्थित भएपछि कारागारमा रहेका कैदीबन्दी दुई समूहमा विभाजित भएका थिए। एक समूहले तुरुन्त भाग्ने तयारी गरेको थियो भने अर्को समूहले त्यसो गर्न नहुने तर्क गर्दै रोक्ने प्रयास गरिरहेका थिए। कारागारमा प्रहरी नभएपछि कारागारका नाइके र भाइ नाइकेहरूले भाग्न चाहनेलाई सम्हाल्ने काम गर्दै आएका थिए।
बुधवार बिहानैदेखि भाग्ने समूहले होहल्ला मच्चाएपछि सेनाको टोली कारागारमा पुगेको थियो। सेनाले उच्च सतर्कता अपनाएर कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। होहल्ला र आगजनीको प्रयास गर्ने केही कैदीलाई सेनाले ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र स्थानान्तरण गरेकाे छ ।
भाग्न नहुने पक्षका कैदीहरू भने कारागारभित्रै रहेका छन्। तीमध्ये बैंकिङ ठगी प्रकरणका कमल ज्ञवाली र इच्छाराज तामाङ, सहकारी ठगी अभियोगमा परेका केबी उप्रेती र यामबहादुर मल्ल, गुण्डा नाइकेका रूपमा चिनिएका दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका कैदीहरू रहेका छन्।













प्रतिक्रिया दिनुहोस्