काठमाडौं, भदौ २५ । केही अघि राजा फर्काऊ अभियानका कमाण्डर बन्नु भएका व्यवसायी दुर्गा प्रसाईँले मुलुकको पछिल्लो असामान्य अवस्थाबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल भएको बताउनुभएको छ ।
लामो छलफलपश्चात् आफूलाई नेतृत्वमा जाने मोह नभएको बताएको प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । सिग्देलसँगको फोटो सार्वजनिक गर्दै उहाँले देशलाई जसरी निकास मिल्छ, त्यही नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेको बताउनुभएको छ । ‘मलाई नेतृत्वको मोह छैन, देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो,’ प्रसाईँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।
उहाँले जेन–जेड पुस्ताको आन्दोलनलाई सम्मान गर्दै आफू तयार नभएर पन्छिने स्वभावको नभएको बताउनुभएको छ। ‘बालेनजी वा सुशीला कार्कीजी, जोसुकै अगाडि बढ्न तयार छन् भने म उनीहरूको नेतृत्व स्वीकार गर्न तयार छु, तर कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन’, उहाँले लेख्नु भएको छ ।
आफू जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको उल्लेख गर्दै उहाँले अहिलेको विषम घडीमा सस्तो राजनीति वा टीकाटिप्पणीभन्दा बढी गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटो आवश्यक रहेको बताउनुभएको छ । ‘यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो, अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न,’ प्रसाईँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्