जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार १५:५४

प्रतिनिधि सभा विघटन लोकतन्त्रका लागि अनिष्ट सङ्केत : नेपाल पत्रकार महासंघ 


काठमाडौं भदौ २८। नेपाल पत्रकार महासंघले हिजो भएको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि लामो समयदेखि अग्रसर हुँदै आएको संस्थाको नाताले यस कदमको कडा निन्दा र भर्त्सना गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘हिजो राष्ट्रपतिबाट संविधानको प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो, यसबाट जनमतको अपमान भएको छ, यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा गर्दछ।’

महासंघले संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतको अघिल्ला नजिर विपरीत भएको प्रतिनिधि सभा विघटन संविधान र नागरिक सर्वोच्चताको उल्लङ्घन भएको ठहर गर्दै लोकतन्त्रका लागि अनिष्ट सङ्केत भएको बताएको छ। ‘यो कदमले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता र समावेशितामा आघात पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिहरूको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्न सबै पक्षलाई आह्वान गरेको छ।