काठमाडौं, भदौ २८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पुनः जेल फर्कने सो घोषणा गर्नु भएको छ । आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा वक्तव्यमार्फत जन्मदिनमा फेरि कारागारमा जाने उहाँले निर्णय सुनाउनु भएको हो ।
विगत सरकारले आफूमाथि राजनीतिक प्रतिशोध र अन्याय जारी राखेको आशङ्का व्यक्त गर्दै नयाँ सरकारले न्यायमूर्ति मानिने व्यक्तिलाई नेतृत्वमा ल्याएकोले अब अन्यायको पुनरावृत्ति नहोला भन्ने आशाले कारागार जान तयार भएको उहाँले बताउनुभएको छ। आफ्ना व्यक्तिगत सफाइ र बचाउ भन्दा बढी देशको भविष्य र सिद्धान्तलाई प्राथमिकता दिने गरी यो कदम लिएर आफूले सत्य र न्यायका लागि प्रतिबद्धता जनाउन चाहेको उहाँले बताउनुभएको छ।
वक्तव्यमा लामिछानेले विगतमा आफ्नामाथि लागेका विभिन्न आरोप, कारागारबाट केही दिन अघि अनिश्चित अवस्था रिहा गरिएको प्रसङ्ग र त्यसअघि जेलबाट निकालेको समयमा भएका विवादसम्बन्धी धारणा समेत व्यक्त गर्नुभएको छ। उहाँले उक्त बेलामा ‘जेल जोगाउन चिठी दिएर निकालिएको’ र अहिले त्यही चिठीको वैधता विवादमा परेको समाचार सुनेको उल्लेख गर्दै, कुनै कर्मचारी, सचिव वा अधिकारीलाई कठिन अवस्थामा पार्ने चाह नभएको बताउनुभएको छ ।
त्यसै गरी, आन्दोलनको क्रममा जनधन र जनजीवनमा भएको क्षतिको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कानुनी कारबाहीको माग उहाँले दोहोर्याउनु भएको छ। विशेष गरी भदौ २३ र २४ गतेका घटनामा जीवन गुमाउने र घाइते भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै पीडित परिवारप्रति समवेदना लामिछानेले व्यक्त गर्नुभएको छ।
नयाँ सरकारले देशमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न र प्राप्त उपलब्धिहरूको रक्षा गर्न संवैधानिक मार्ग अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। साथै, वर्तमान परिस्थितिलाई दीर्घकालीन र स्थायी रूपले सुधार गर्न उहाँले पाँच प्रमुख माग अगाडि राख्नु भएको छ ।
जसमा २०४६ सालपछि भएका नीतिगत निर्णय तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन, सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गरी नयाँ नियुक्ति प्रक्रियाका लागि बाटो खोल्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति र फेरि जाँच प्रक्रिया अघि बढाउनु, विश्वविद्यालयमाथि भएका राजनीतिक नियुक्ति खारेज गरी मेरिटोक्रेसी स्थापना गर्नु र राजदूतसमेत समावेश गर्दै दूतावासीय नियुक्तिमा समान प्रक्रिया लागू गर्नु पर्ने उहाँको सुझाव छ ।
उहाँले राज्यका विभिन्न निकायहरूलाई ‘रावणका अलग–अलग टाउकाहरू’मा तुलना गर्दै ती टाउकामध्ये यदि एउटा मात्र पनि जीवित रह्यो भने पुरै संरचना बच्ने भएकाले यस्ता प्रणालीगत कमजोरी हटाउनुपर्ने उहाँको धारणा छ ।
नयाँ सरकार र नयाँ जेनेरेसनप्रति शुभकामना व्यक्त गर्दै, सही बाटोमा अघि बढेर संविधान र लोकतन्त्रको रक्षा भए लामिछानेले आफ्नो शक्ति र सहयोग दिन तयार रहेको स्पष्ट पार्नुभएको छ। आन्दोलनका क्रममा आफ्ना साना छोराछोरी गुमाएका परिवारप्रति पनि उहाँले गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यदि सम्भव भए आफूले सानोतिनो योगदान गर्न तयार रहेको बताउनुभएको छ।
लामिछाने भदौ २४ गते जेनजीकाे आन्दोलनका क्रममा जेलबाट निस्कनु भएको थियो । लामिछाने निस्किएपछि देशभरका जेलबाट १४ हजार बढी कैदी बन्दीहरू जेल तोडेर निस्किएका थिए । जेल तोडेर निस्कनेहरूलाई जेलमा फर्कन र नफर्किए पक्राउ गरिने सूचना जारी भएपछि लामिछानेले जेल फर्कने स्वघोषणा गर्नु भएको हो ।













प्रतिक्रिया दिनुहोस्