जनता टाइम्स

१ आश्विन २०८२, बुधबार २०:२५

तीन मन्त्रीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचनाको निरीक्षण


काठमाडौं, असोज १ । सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रमुख सरकारी संरचनाहरूको निरीक्षण गर्न अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले स्थलगत अवलोकन गर्नुभएको छ।

बुधबार संसद् भवनमा पुगेर निरीक्षण गर्दै मन्त्री घिसिङले जलेका र भत्किएका संरचनाहरूलाई सबैले मिलेर पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो। ‘हाम्रो जलेका र भत्किएका संरचनाहरू हामी सबैले मिलेर बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि विदेशी सहयोगभन्दा पनि हामीले कोष खडा गरेका छौँ। त्यसमा नेपालमा र विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेर आफ्ना संरचनाहरू पुनःस्थापना गर्न सक्छौँ।’

त्यसैगरी अर्थमन्त्री खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो प्राथमिकता तत्काल संरचना पुनर्निर्माण गर्ने रहेको बताउनुभयो। उहाँले आन्दोलनका कारण भएको क्षति यकिन गर्न अहिलेसम्म नसकिएको भन्दै त्यसका लागि समिति गठन गर्न लागिएको जानकारी दिनुभयो। ‘पहिलो प्राथमिकता अहिलेका संरचना पुनर्निर्माण गर्ने हो। क्षति यति भयो भनेर भन्न सकिने अवस्था छैन। त्यसका लागि समिति गठन गर्दैछौँ,’ उहाँले भन्नुभयो।

गृहमन्त्री अर्याललगायत मन्त्रीहरूले सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री निवाससहित जेनजी आन्दोलनमा जलेर ध्वस्त भएका अन्य संरचनाहरूको पनि स्थलगत अवलोकन गर्नुभएको छ।