काठमाडौ, असोज ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताउनुभयो । आन्दोलनका क्रममा भदौ २३ गते ज्यान गुमाएका युवा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्नुभयो ।

उहाँले राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेको बताउनुभयो । ‘बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन, नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो त्यो लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हो भन्ने बुझ्नु पर्दछ, राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदै’, उहाँले भन्नुभयो ।
राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उहाँले बताउनुभयो । यो नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम भएको उहाँको दाबी छ ।
नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै उहाँले त्यस प्रति गर्व गर्नुपर्ने बताउनुभयो । अहिले इतिहासको अति कठिनपूर्ण घडीमा पार्टी हरेको बताउँदै उहाँले यस्ता धेरै कठिनाइ एमालेले पार गर्दै आएको स्मरण गराउनुभयो । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उहाँले एमाले फेरी उठ्ने दाबी गर्नुभयो ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेकका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत सबै वरिष्ठ नेताहरूको उपस्थिति थियो ।














प्रतिक्रिया दिनुहोस्