जनता टाइम्स

४ आश्विन २०८२, शनिबार १६:३८

अनेरास्ववियुमा वाग्मतीबाट नेतृत्व गर्ने विद्यार्थी नेताहरूको माग : सङ्कटको बेलामा भाग्ने नेतृत्वलाई हटाएर नयाँ नेतृत्व ल्याइयोस्


काठमाडौं, असोज ४ । नेकपा एमाले निकट अनेरास्ववियुका वाग्मती प्रदेशबाट नेतृत्व गर्ने केन्द्रीय सदस्य र जिल्ला स्तरीय नेताहरूले संगठनका अध्यक्ष डा. सुजन कडारियाको नेतृत्वप्रति असन्तोष प्रकट गर्दै नयाँ नेतृत्व चयनको माग गरेका छन्।

वाग्मती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरूले संयुक्त रूपमा सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा अध्यक्ष कडारियाको पछिल्लो आचरण, दोहोरो राजनीतिक शैली र राजीनामाको नाटकले संगठनको गरिमा र विश्वासमा ठेस पुर्‍याएको उल्लेख छ। ‘सङ्कटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने अध्यक्ष उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, सार्वजनिक रूपमा मौन रहँदा व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने व्यवहारले विद्यार्थी आन्दोलनप्रति आस्था राख्ने कार्यकर्ताहरू भ्रमित बनेका छन्’, उहाँहरूको पत्रमा उल्लेख छ ।

पत्रमा कडरियाले सामाजिक सञ्जालमार्फत दिएको राजीनामा र त्यसपछि व्यक्त ‘विद्यार्थी संगठन सकियो’ भन्ने धारणा शहीद र आन्दोलनप्रति अपमानजनक भएको दाबी गरिएको छ। उहाँहरूले व्यक्तिगत स्वार्थ र राजनीतिक अवसरवादका आधारमा आन्दोलन सञ्चालन गर्ने प्रवृत्तिको विरोध गर्नु भएको छ । ध्यानाकर्षण पत्रमा तत्काल केन्द्रीय कमिटी बैठक बोलाई नयाँ जिम्मेवार र स्पष्ट दृष्टिकोण भएको नेतृत्व चयन गर्न माग गरिएको छ। अध्यक्षले सार्वजनिक राजीनामा दिइसकेकाले संगठनले नयाँ नेतृत्व रोज्न ढिलाइ गर्नु नहुने उहाँहरूको धारणा छ ।

पत्रमा भनिएको छ, ‘हामी सिङ्गो वाग्मती प्रदेशका हस्ताक्षरकर्ताहरू स्पष्ट माग गर्दछौँ– अनेरास्ववियुको तत्काल बैठक बसोस् र संगठनलाई नयाँ नेतृत्वको हातमा जिम्मेवारी सुम्पियोस्। महाधिवेशनमार्फत प्राप्त प्रतिनिधिको विश्वास, मत र म्यान्डेटलाई अपमान गर्ने व्यक्तिलाई स्विकार्न सकिँदैन। संगठनलाई अझ गहिरो संकटमा जान नदिन तुरुन्तै निर्णय लिनु आजको ऐतिहासिक आवश्यकता हो।’